अठारौँ गणतन्त्र दिवसः राष्ट्रपति मूल समारोहमा सरिक

काठमाडौं । अठारौँ गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी हर्षाेल्लासका साथ मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भए ।

राष्ट्रपति पौडेल संविधानको संरक्षक तथा नेपालको राष्ट्राध्यक्ष हुन् । त्यसअवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाद्वारा सलामी अर्पणका साथै राष्ट्रिय गान र झण्डोत्तोलनसमेत गरियो । कार्यक्रममा मुलुकमा गौरवमय परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा सहादत प्राप्त ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गरियो ।

सो अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गर्दै गणतन्त्र कुनै दलको स्वामित्व होइन, यसको मालिक जनता हो भने । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपप्रधानमन्त्री प्रकाशमान सिंह सहभागी थिए ।

त्यसअघि नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस–२०८२ अङ्कित ब्यानर प्रदर्शनी गरी पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा काठमाडौं महानगर, ललितपुर महानगर, कीर्तिपुर नगरपालिकालगायत स्थानीय तहले धिमे र नौमतिजासहित लाखे र खैचडी नाच प्रस्तुत गरेको थिए ।
मुलुकको विविधतासम्बन्धी महत्त्व झल्कने साँस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालबाट मार्चपास प्रस्तुत भयो । गणतन्त्रको खुसियालीमा रङ्गीचङ्गी बेलुन उडाउनुका साथै शान्तिको कामना गर्दै परेवा उडाइएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का तर्फबाट बालबालिका तेक्वान्दो प्रदर्शनी र सुरक्षा निकायकातर्फबाट सातै प्रदेशको विविधता झल्कने प्रकृतिको साँस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो । कार्यक्रममा सुरक्षा फौजकातर्फबाट संयुक्त ब्याण्ड प्रस्तुत भएको थियो । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४० वर्षदेखिको राजतन्त्र व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो ।

उक्त ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हरेक वर्ष आजको दिन गणतन्त्र दिवस मनाउने गरिएको हो । विभिन्न राजनीतिक दल, प्रदेश सरकार, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले पनि गणतन्त्र दिवसका अवसरमा यसको महत्त्व उजागार गर्ने विभिन्न कार्यक्रम आयोजना गरेका छन् । विदेशस्थित कूटनीतिक नियोगमा समेत गणतन्त्र दिवस मनाउने गरिएको छ ।

मन्त्रीगण, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व पनि गणतन्त्र समारोहमा भाग लिन टुँडिखेल पुगेका थिए । समारोहको नेपाल टेलिभिजन, रेडियो नेपाललगायत सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।

You might also like

Comments are closed.