काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक बिमानस्थलका रुपमा स्तरोन्नति गर्ने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा रु चार अर्ब १५ करोड विनियोजन गरिएको छ ।
सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गर्नका लागि बुटिक विमानस्थलका रुपमा विकास गरिने उल्लेख छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि पर्यटन मन्त्रालयलाई रु १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हवका रुपमा विकास गरिने र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकहरुको लागि किफायती हुनेगरी विमानस्थल परिसरमा आवशयक सुविधा उपलब्ध गरिने उल्लेख छ ।
साथै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा कार्गो सेवा सञ्चालन गर्न विशेष सहुलियत दिइनेछ । नेपालमा अन्तरराष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न विशेष सहुलियत दिइनेछ ।
निजगढ विमानस्थल निर्माण गरिने
सरकारले निजगढ अन्तरराष्टिन्य विमानस्थल निर्माणलाई दोहो¥याएको छ । संसदमा प्रस्तुत बजेटमा वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ विमानस्थल निर्माण गर्ने प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ ।
झापाको भद्रपुर, दाङको टरिगाउँ, ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तार गरिनेछ । सुर्खेतमा प्रादेशिक विमानस्थलको प्रक्रिया थालिनेछ । आन्तरिक विमानस्थलको पूर्वाधारका लागि रु ५० करोड विनियोजन गरिएको छ ।
नागरिक उड्डयन प्राधिकरणको संस्थागत सुदृढीकरण गरिने
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकको रुपमा छुट्याई संस्थागत सुदृढीकरण गरिने बजेटमा जनाइएको छ । आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गरिनेछ । आन्तरिक हवाई सुरक्षालाई थप सुरक्षित र पहुँचयोग्य बनाइने बजेटमा उल्लेख छ ।
Comments are closed.