पाल्पा । सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको छ । अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढिरहेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन् ।
उनका अनुसार मुख्य टनेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको ९९० मिटर काम सकिएको छ भने लाइनिङको एक हजार १२६ मध्ये ६६० मिटर काम सकिएको हो । बाइपास–१ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको छ । बाइपास–३ मा ‘इन्भर्ट’ को काम सुरु भएको छ । बाइपास–१ मा १५१ मिटर रहेकामा १४५ मिटर र लाइनिङको ११८ मिटर काम भइसकेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार बाइपास–२ मा १६१ मिटर छ । यहाँ अहिलेसम्म इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन् । बाइपास–३ मा १३० मिटर छ । जसमा इन्र्भटको ३६ मिटर काम भइसकेको छ । लाइनिङको काम भने सुरु भएको छैन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यस सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छ ।
वित्तीय प्रगति भने ४८ प्रतिशत रहेको छ । यहाँ यथाशीघ्र भित्तामा कङ्क्रेटिङ गर्ने, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, विद्युत् जडान, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायत काम गरिनेछ । त्यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माणका काम हुनेछ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन खण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग विसं २०७९ देखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ । विसं २०८३ मा सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको छ । यो खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म सवारीसाधान आवतजावत गर्दछन् ।
यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति हुने गरेपछि सुरुङमार्ग निर्माण थालिएको हो । छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमित रूपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा यस खण्डका लागि रकम विनियोजन गरेपछि समयमा काम सम्पन्न हुने विश्वास लिइएको छ ।
सरकारले पाल्पा–सिद्धबाबा खण्डमा निर्माणाधीन सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि रु दुई अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । बजेट विनियोजन भएपछि काम समयमा सम्पन्न हुनेमा आफूहरू विश्वस्त रहेको स्थानीय गोविन्द्र पोखरेलले बताए ।
Comments are closed.