सडक दस्तुरका लागि थपियो ८ सडक

काठमाडौं । सरकारले सडक दस्तुरका लागि ८ वटा सडक थप गरेको छ । कोभिड–१९ भन्दा अघि देशैभरका १५ वटा सडकबाट सडक दस्तुर उठाउँदै आएकोमा यसमा थप ८ वटा सहित (२२ सडक र एउटा सुरूङमार्ग) २३ वटा पुगेको छ ।

अहिले नयाँ ८ सडक थप गर्दै २३ वटा सडकबाट सडक दस्तुर उठाउने तयारी भएको छ । पहिला १५ वटै सडकबाट उठाउँदै आएको दस्तुर कोभिडको समयमा स्थगित भयो । त्यसयता दस्तुर उठाइएको छैन । अहिले थप ७ सडक र नागढुंगा सुरूङमार्ग गरी कुल २३ वटा सडकबाट दस्तुर उठाउने तयारी गरिएको छ ।

सडक दस्तुर तोकिएका २३ सडकमध्ये काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) र नागढुंगा–नौबिसे सञ्चालनमा आएका छैनन् । बोर्डले हाललाई सञ्चालनमा रहेका २१ सडकबाट दस्तुर उठाउने तयारी गरेको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बताए ।

यसअघि उठाइँदै आएका सडकमा पुरानै शुल्क उठाइनेछ । थपिएका सडकमा उठाइने दस्तुर प्रस्ताव गरिएपनि टुंगो लागेको छैन भने कुन मितिदेखि लागू गर्ने भन्ने पनि एक्किन छैन । बोर्डले तयार पारेको ‘सडक दस्तुर उठाउने कार्यविधि २०८१’ गत जेठ १७ गतेको मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । महेन्द्र राजमार्गको (पश्चिमतर्फ ४ खण्ड) अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, फास्ट ट्रयाक र नागढुंगा सुरूङमार्ग थप गरिएको छ ।

महेन्द्र राजमार्गको बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–अत्तरिया, अत्तरिया–गड्डाचौकी खण्डमा सडक दस्तुर उठाइने छ । त्यस्तै, धुलिखेल–तातोपानी, मुग्लिन–पोखरा, काठमाडौं–तराई द्रुतमार्ग र नागढुंगा नौबिसे सुरूङमार्गमा दस्तुर उठाइने छ ।

You might also like

Comments are closed.