दुई प्रदेशको सीमानामा प्रहरी चौकी स्थापना

रामपुर (पाल्पा) । लुम्बिनी र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी गाउँपालिका–१ स्थित भोटाहामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रहरी चौकी स्थापना गरिएको हो ।

कालीगण्डकी करिडोर सडकमार्ग प्रयोग गर्ने बढ्दै जाँदा चोरी निकासी तथा अवैध गतिविधि नियन्त्रण गर्न, निस्दी गाउँपालिका–१ र २ का स्थानीयलाई शान्ति सुरक्षा दिलाउन, सवारी दुर्घटना न्युनिकरण, अपराधिक क्रियाकलाप रोक्नका लागि दुई प्रदेशको सीमा नाकामा प्रहरी चौकी स्थापना गरी सेवा दिन थालिएको छ ।

भाडाको घरमा सञ्चालन रहेको चौकीका लागि निस्दी गाउँपालिकाले आवश्यक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । गाउँपालिकाले एकवटा मोटरसाइकल समेत उपलब्ध गराउने जनाएको छ । यहाँ स्थापना भएको प्रहरी चौकीसँगै पाल्पामा हाल १९ वटा स्थायी प्रहरी चौकी र ६ वटा अस्थायी प्रहरी चौकी सञ्चालनमा छन् ।

प्रहरी प्रधान कार्यालयले गत वैशाख १९ गते स्वीकृत प्रदान गरेसँगै अस्थायी पोष्ट स्थापनाका लागि आवश्यक तयारी गरेर चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराई बताउँछन् । उनका अनुसार चौकीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ जना प्रहरीले निस्दी गाउँपालिका–१ र २ का नागरिकलाई सेवा दिइनेछ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले लुम्बिनी प्रदेशको पाल्पा र गण्डकीको नवलपुरका सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रणका लागि सहज हुने बताए ।

 

You might also like

Comments are closed.