रामपुरमा नेपाल स्काउटको ७४ औँ स्थापना दिवस मनाइयो

रामपुर (पाल्पा) । नेपाल स्काउटको ७४ औँ स्थापना दिवस रामपुरमा मनाइएको छ । नेपाल स्काउट स्थानीय स्काउट कार्यालय रामपुर पाल्पाले बिहिवार प्रभातफेरी कार्यक्रम र वक्तृत्वकला प्रतियोगिता सहित स्काउट स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा विभिन्न प्ले कार्ड सहित रामपुर नगरपालिका वडा नं.५ को वेझाँड बजार परिक्रमा गरेको छ भने नेतृत्व विकासमा स्काउटको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकामा भएको स्थापना दिवस कार्यक्रममा बोल्दै नगर प्रमुख रमणबहादुर थापाले विद्यार्थीको अनुशासन र नेतृत्व क्षमता विकाससँगै सामाजिक भावनाको विकासका लागि स्काउटको महत्वपूर्ण भूमिका रहने बताए ।

स्काउटको माध्यमबाट विद्यार्थीलाई नैतिकवान, चरित्रवान र व्यवहारिक बनाउन आवश्यक रहेको उल्लेख गरे । उनी भन्छन्,“अनुशासनको विकास, चरित्रवान, नैतिकवान र सफल समाज निर्माण गरी समुन्नत रामपुर निर्माणका लागि स्काउट आवश्यक छ” । उनले विपद्को समय वा अन्य हरेक समयमा मानिसलाई सहयोग गर्ने अर्धसैनिक संस्था स्काउट भएको भन्दै सकारात्मक सोँच र उच्च आत्मबलका साथ नगरबासीलाई सहयोग गर्न आग्रह समेत गरे । स्काउटले नैतिकसँगै व्यवहारिक ज्ञान प्रदान गर्ने भन्दै यसको माध्यमबाट समृद्ध रामपुर निर्माणका लागि सकारात्मक सोँचका साथ लाग्नुपर्नेमा जोड दिए ।

उपप्रमुख बालकुमारी थापाले विद्यार्थीको व्यक्तित्वसँगै नेतृत्व क्षमता विकासका लागि सबै विद्यालयमा स्काउट सञ्चालन गर्नुपर्ने बताइन् । नगरपालिका भित्रका सबै विद्यालयमा स्काउट सञ्चालन र व्यवस्थापनका लागि थप कार्यक्रम सञ्चालन गर्ने उनले प्रतिबद्धता व्यक्त जनाइन् ।
कार्यक्रममा आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतम, जनविकास माध्यमिक विद्यालयका शिक्षक कृष्णकला भण्डारी लगायतले आफ्ना धारणा राखेका छन् । स्थापना दिवसको अवसरमा भएको नेतृत्व विकासमा स्काउटको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा स्काउट सञ्चालन भएका विद्यालयका ११ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालयका शारदा श्रेष्ठ, द्धितिय जनविकास माध्यमिक विद्यालयका स्विकार पोखरेल र तृतीय गंगा माध्यमिक विद्यालयका सुरक्षा ढुंगाना भएका छन् । प्रतियोगितामा विजयी र सहभागि विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । साथै कार्यक्रमको अवसरमा स्काउट सञ्चालन भएका विद्यालयले विभिन्न प्रजातिका फूल सहितको गमला हस्तान्तरण गरेको छ ।

स्थानीय स्काउट समिति रामपुर पाल्पाका अध्यक्ष सागर श्रेष्ठको अध्यक्षतामा भएको हो । शिक्षा अधिकृत विकल काफ्लेको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरले गरेकी हुन् ।

नेपाल स्काउट स्थापना दिवसको अवसरमा स्काउट सञ्चालित विद्यालयका विद्यार्थीले स्काउट विश्वास योग्य हुन्छ,स्काउट मितव्ययी हुन्छ, स्काउट बहादुर र संधै प्रसन्न रहन्छ, स्काउट मन बचन र कर्ममा पवित्र हुन्छ लगाएत लेखिएको प्ले कार्ड सहितको प्रभातफेरी नहर अफिस देखि बेझाँड बजार परिक्रमा गरिएको थियो ।

You might also like

Comments are closed.