रामपुरमा सकारात्मक सोँच र खुशी एक कला सम्बन्धि कार्यक्रम सम्पन्न

सुशीला रेग्मी/रामपुर (पाल्पा) । सकारात्मक सोँच र खुशी एक कला सम्बन्धि कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा नं ४ को आयोजनामा विद्यार्थी, शिक्षक, अभिभावकलाई लक्षित गरी कार्यक्रम भएको हो ।

वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मानव सेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारी रहेका हुन् । वडाध्यक्ष रानाले वडा भित्रका सबै विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र रामपुर नगरपालिका भित्रका विद्यालयलाई पनि कार्यक्रममा सहभागी गराएर सकारात्मक सोँच र खुशी एक कला सम्बन्धि जानकारी दिइएको बताए ।

कार्यक्रमका सहजकर्ता समेत रहेका प्रमुख अतिथि अधिकारीले आफ्नो जीवनलाई सही मार्गमा अगाडी बढाउन समय व्यवस्थापन गर्नु अति जरुरी रहेको बताए । उनले बेलैमा समयमा नै आफूले काम गर्न सकिएन भने सोँचे अनुसार जीवनमा उपलब्धि हासिल नहुँदा पछुताएर बस्नुपर्ने बताउँदै उनले हरेक कामलाई महत्व मानेर काम गरियो भने त्यो नै खुशी हुने बताएका छन् ।

रामपुर नगर उपप्रमुख बालकुमारी थापाले यस कार्यक्रमबाट मानव जीवनमा नभई नहुने ज्ञान आर्जन प्राप्त भएको बताइन् । सकारात्मक सोँचले मानव जीवनलाई खुशि राख्ने हुँदा हरेक कुरालाई सकारात्मक लिन उपप्रमुख थापाले अनुरोध गरिन् । कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाँण, शिक्षा अधिकृत विकल काफ्ले, दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा लगायतले आफ्ना भनाइ राखेका छन् ।

कार्यपालिका तथा वडा सदस्य सिमादेवी रानाको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सदस्य मोहन सिं राना र धन्यवाद वडा सदस्य मोहम्मद ताजिम शेखले दिएका हुन् । वडाले हरेक वर्ष रचनात्मक कार्यक्रममा जोड दिएर काम गरिरहेको वडा सदस्य कमला रुचालले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीले उत्साहका साथ सहभागी भई नयाँ ज्ञानार्जन लिएका छन् ।

 

You might also like

Comments are closed.