रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले तीन वा सो भन्दा बढी सन्तान जन्माउनेलाई मासिक भत्ता दिने भएको छ ।
नगरपालिकाको १७ औँ नगर सभामा आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख रमणबहादुर थापाले तीन वा सो भन्दा बढी सन्तान जन्माएमा तेस्रो सन्तान र तेस्रो सन्तान पछिका हरेक सन्तानलाई पाँच वर्षसम्म मासिक रु पाँच सय प्रदान गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको बताए ।
वर्तमान समयमा जनसंख्या वृद्धिदर कम हुँदै गइरहेको, शिक्षित तथा कार्यशिल युवाशक्ति पलायन भइरहेको अवस्थामा भइरहेको वर्तमान अवस्थामा नगरको दीर्घकालीन श्रमशक्ति, आर्थिक स्थायित्व र सामाजिक संरचनामा असन्तुलनको जोखिम देखिएको सन्दर्भमा जनसंख्या वृद्धिलाई व्यवस्थित रूपमा प्रोत्साहन गर्न मासिक भत्ता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरपालिकामा स्थायी बसोवास गर्ने नगरबासीबाट आगामी आर्थिक वर्षबाट तीन वा सोभन्दा बढी सन्तान जन्माउने परिवारका तेस्रो सन्तान वा तेस्रो सन्तान पछिका हरेक सन्तानको नाममा मासिक रुपमा रु पाँच सयका दरले बाल बचत खाता स्थापना गरी ५ वर्ष उमेर पुगुन्जेलसम्म नगरपालिकाबाट नियमित रूपमा जम्मा गरिने व्यवस्था लागू गरिने नगर प्रमुख थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उल्लेख छ ।
यस्तै नगरपालिकाले मेयरसँग ज्येष्ठ नागरिक र उपप्रमुखसँग सुत्केरी पोषण कार्यक्रम अन्तर्गत अण्डा वितरण र पूर्ण संस्थागत सुत्केरीलाई यातायात एम्बुलेन्स फ्री गरिने कार्यक्रम रहेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि रु ८२ करोड बढीको बजेट ल्याएको छ । नगर उपप्रमुख बालकुमारी थापाले आगामी आर्थिक वर्षका लागि कुल अनुमानित रु ८२ करोड १८ लाख ६६ हजार ६२१ बराबरको बजेट सार्वजनिक गरिन् ।
१७ औं नगर सभामार्फत उपप्रमुख थापाले आयतर्फ संघीय समानिकरण अनुदान १२ करोड २२ लाख, संघीय राजश्व बाँडफाँड १० करोड ६३ लाख ९८ हजार ६२१, संघीय समपुरक (पूंजीगत) ९१ लाख, संघीय विशेष (चालु) ७५ लाख, संघीय ससर्त (चालु) ३५ करोड ११ लाख, संघीय ससर्त (पूंजीगत) दुई करोड ८ लाख, प्रदेश समानिकरण अनुदान ८३ लाख २३ हजार, प्रदेश राजश्व बाँडफाँड एक करोड २९ लाख ३७ हजार बजेट रहेको जानकारी दिए ।
यस्तै प्रदेश समपुरक एक करोड २० लाख, प्रदेश ससर्त (चालु) १५ लाख ८ हजार, प्रदेश ससर्त (पूँजीगत) तीन करोड, आन्तरिक स्रोत (अल्याह सहित) १४ करोड गरी जम्मा ८२ करोड १८ लाख ६६ हजार ६२१ रहेको नगर उपप्रमुख थापाले बजेट रहेको जानकारी दिनुभयो । व्ययतर्फ, चालु बजेट ६० करोड ५० लाख ५८ हजार २०६ (७३.६२%), पूँजिगत बजेट २१ करोड ६८ लाख ८ हजार ४१५ (२६.३८%) रहेको छ ।
Comments are closed.