रामपुरका मौरीपालक कृषकलाई अनुदानमा मौरीको घार

रामपुर (पाल्पा) । रामपुर नगरपालिकाले मौरीपालक कृषकका लागि अनुदानमा मौरीको घार वितरण गरेको छ । नगरपालिकाले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरीको घार वितरण गरेको हो । मौरी पालन गर्दै आएका कृषकलाई मागको आधारमा बुधवार ९५ वटा मौरीको घार वितरण गरेको हो ।

कृषकलाई मौरीको घार वितरण गर्दै रामपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले मौरीपालनलाई व्यवसायिक रुपमा प्रवद्र्धन गर्नका लागि मौरीको घार वितरण गरिएको बताइन् । वितरित घारमा मौरी पालन गरि आम्दानी गर्न सके मात्र कार्यक्रमले सार्थकता पाउने बताउँदै उपप्रमुख थापाले मौरी पालन सजिलो र थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिने भन्दै यसलाई व्यवसायीक रुपमा गर्न आग्रह समेत गरिन् ।

मौरीपालन व्यवसायको व्यवसायिक विकास र कृषकको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताइन् । साथै अहिले नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको व्याज अनुदान कार्यक्रममा समावेश गरि व्याज अनुदानको समेत व्यवस्था गरेको जानकारी दिइन् । नगरपालिका भित्र व्यवसायीक रुपमा मौरीपालन गर्ने कृषक न्यून रहेको भन्दै मौरीपालनलाई व्यवसायीक रुपमा अगाडी बढाई व्यवसायीक सफलता लिन कृषकलाई उपप्रमुख थापाको अनुरोध छ ।

कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले परम्परागत घारमा मौरीपालन गर्दै आएका मौरीपालकलाई धेरै उत्पादन गर्न सहज होस् भन्ने उद्देश्यले आधुनिक मौरी घार वितरण गरिएको बताए । कृषकको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत गरी नगरपालिका भित्रका ३९ जना मौरीपालक कृषकलाई ९५ वटा आधुनिक मौरीको घार वितरण गरिएको शाखा प्रमुख गैरेले जानकारी दिए ।

पुरानो कृषि कार्यालय भवनमा भएको मौरीको घार वितरण कार्यक्रममा मौरीपालक कृषक रामपुर ६ पाल्पाका टिकाराम पाठकले घारको व्यवस्थापन र मौरीपालन सम्बन्धी जानकारी सहित अनुभव प्रस्तुत गरे । परम्परागत घारमा पुरानै शैलीमा मौरीपालन गर्दै आएका रामपुर ४ का शेरबहादुर रानाले आधुनिक घार पाएपछि मौरी पालनमा उत्साह थपिएको बताए ।

रामपुर १० च्याङ्लिङका लोकप्रसाद श्रेष्ठले उमेर ढल्किदै गएसँगै अरु पेशा र व्यवसाय भन्दा मौरीपालन व्यवसाय गर्न सजिलो हुने भएकाले आफ्नो परम्परागत घारलाई विस्थापित गरी व्यवस्थित र व्यवसायीक रुपमा मौरीपालन व्यवसाय गर्न मद्दत पुगेको बताए । यस्तै आधुनिक घारमा मह निकाल्न सजिलो हुने र माउ उत्पादन गरि संख्या वृद्धि गर्न सजिलो हुने भएकाले अनुदानमा पाएको घारले उत्पादन वृद्धि गर्न र व्यवसायीक रुपमा अगाडी बढ्न सघाउ पुग्ने रामपुर ८ बस्ने मौरीपालक बुद्धिसागर अधिकारी बताउँछन् ।

रामपुर नगरपालिकाले सूचना जारी गरी आवश्यक घारको निवेदन माग गरेको थियो । कृषकको मागको आधारमा नगरपालिकाले आधुनिक मौरीको घार वितरण गरेको नगरपालिकाले जनाएको छ । रामपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख थापाको अध्यक्षतामा भएको मौरीको घार वितरण कार्यक्रम कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेको स्वागत र जेटिए युवराज नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।

You might also like

Comments are closed.