सुशीला रेग्मी/रामपुर (पाल्पा) । रामपुर बचत तथा ऋण सहकारी संस्थाले जनविकास माध्यमिक विद्यालय रामपुर नगरपालिका ३ रजघरा पाल्पामा अक्षयकोष स्थापना गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमानाथ अर्यालको अध्यक्षतामा भएको अक्षयकोष हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मी रहेका हुन् ।
सो अक्षयकोष रकम सहकारीका अध्यक्ष रेग्मी, उपाध्यक्ष बाबुराम श्रेष्ठ, सचिव किर्तिनाथ श्रेष्ठ, कोषाध्यक्ष बन्दना पोखरेल, व्यवस्थापक गोविन्द पाठक लगायतले विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्याल र प्रधानाध्यापक पशुपति खनाललाई ५० हजार बराबरको चेक रकम हस्तान्तरण गरिएको छ ।
प्रमुख अतिथि सहकारीका अध्यक्ष रेग्मीले समुदायप्रतीको दायित्व बहन गर्दै बालबालिकाको शैक्षिक भविष्यलाई सघाउ पुग्ने हुदा सामुदायिक विद्यालयमा अक्षयकोष रकम स्थापना गर्ने कार्यक्रम सुरु गरेको बताए । चन्द्रज्योति बचत तथा ऋण सहकारी र रामपुर बचत तथा ऋण सहकारी संस्था एकीकरण गरी झोलाबाट सुरु भएको सहकारी अहिले सुबिसम्पन्न भौतिक संरचनाबाट सेवा दिइरहेको अध्यक्ष रेग्मीले जानकारी दिए ।
देशैभर केही सहकारीमा रकम अपचलन गरेर समस्या उत्पन्न भएको पाइएपनि रामपुर साकोस सहकारीको मर्म,भावना र मापदण्डअनुसार चलेको हुदा ढुक्क भएर संस्थामा सेवा लिन अध्यक्ष रेग्मीले सबैलाई अनुरोध गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्यालले विद्यालयमा स्थापित अक्षयकोषबाट विभिन्न विधामा विद्यार्थीलाई वितरण गर्ने र अक्षयकोष सधैंभरी रहिरहने हुदा विद्यालयलाई सम्झेर गरेको यस कार्यक्रमप्रती सहकारीलाई धन्यवाद दिए ।
सहकारीका व्यवस्थापक पाठकले कार्यक्षेत्र भित्रको सामुदायिक विद्यालयको अवस्था हेरेर यसवर्ष देखि हरेक वर्ष एक विद्यालयमा एक अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिए । गतवर्ष पनि सहकारीले यस विद्यालयमा स्वास्थ्य सहायता सामग्री स्टेचर सहयोग गरेको व्यवस्थापक पाठकले बताए ।
विद्यालयका प्रधानाध्यापक खनालले अक्षयकोष स्थापनाका लागि पहिलो कार्यक्रम यस विद्यालयलाई छनौट गरेकोमा धन्यवाद दिदै सहकारीले आफ्नो सेवा क्षेत्रमा राम्रो प्रभाव पारेको बताए । अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट सहकारीको उद्देश्य अनुसार विद्यार्थीलाई वितरण गरिने प्रअ खनाल बताउछन् ।
हस्तान्तरण कार्यक्रममा सहकारीका संचालक समिति सदस्यहरु दुर्गाप्रसाद ढकाल, सुर्यप्रसाद खनाल, सुशीला रेग्मी, विकास पौडेल, दयाराम गैरे, सुर्यप्रसाद श्रेष्ठ, बरिस्ठ कार्यालय सहायक प्रेमकान्छा मगर लगायत सहभागी थिए । शिक्षक प्रतिनिधि कृष्णकला भण्डारीको स्वागतबाट सुरु भएको कार्यक्रम संचालन विद्यालयका सहायक प्रधानाध्यापक विजय अधिकारीले गरेका हुन् ।
संस्थामा हाल ४ हजार ४ सय ८९ जना सेयर सदस्य आबद्ध छन् । सहकारीले सामाजिक सामुदायिक विकास कोषबाट समाजको हितमा काम गर्दै आएको छ । सदस्यलाई मृत्युु दुर्घटना बिमा, भैपरि आउने प्राकृतिक विपदका घटना, विभिन्न राहतका कार्यक्रम, सेयर सदस्यलाई अध्ययन अवलोकन भ्रमण, ज्येष्ठ नागरिकलाई सम्मान लगायतका विभिन्न कार्यक्रम सहकारीबाट भइरहेको छ ।
हालसम्म यस विद्यालयमा २१ वटा अक्षयकोषबाट २१ लाख १० हजार ४ सय ९० रुपैयाँ बराबरको अक्षयकोष रकम स्थापना भएको छ । विद्यालयमा स्थापित अक्षयकोषबाट शैक्षिक गुणस्तर बृद्दि, विद्यार्थीको पठापाठनमा सहयोग पुग्ने गरी प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.