रानीमहललाई पुरानै स्वरूपमा संरक्षण गरिने

काठमाडौं । पाल्पाको ऐतिहासिक रानीमहललाई पुरानै स्वरूपमा संरक्षण गरिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले रानीमहललाई खड्ग शम्शेरले निर्माण गरेको शैलीअनुसार पुनःस्थापना गर्ने निर्णय गरेको हो ।

बैठकमा अर्थमन्त्री पौडेलले रानीमहल दुर्लभ ऐतिहासिक सम्पदा भएकाले यसको संरचनागत स्वरूप र शैली अनुसारका सामग्री सङ्कलन गरी अध्ययन गर्न तथा सोहीअनुसार कार्ययोजना बनाउन पुरातत्व विभागलाई निर्देशन दिए । उनले नदी कटान र पहिरो व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा क्षेत्रका सांसदहरू, पुरातत्व विभागका महानिर्देशक, प्रमुख जिल्ला अधिकारी, इन्जिनियरलगायतको उपस्थिति रहेको थियो । बैठकले रानीमहलको संरक्षणका लागि गुरुयोजना बनाएर काम अघि बढाउने निर्णय गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले दीर्घकालीन व्यवस्थित योजनाका साथ रानीमहल र त्यस वरपरका क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताए ।

बैठकमा प्रतिनिधिसभाका सांसद ठाकुर गैरेले कालीगण्डकी नदीले रानीमहलको जग कटान गर्नबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताएका छन् । सांसद नारायण आचार्यले रानीमहललाई व्यवस्थित गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले सबै निकायसँग समन्वय गरेर संरक्षण कार्य अघि बढाउने जानकारी दिए । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले ऐतिहासिक महत्त्व जोगाएर पुनर्निर्माण सम्भव हुने बताए । अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले स्रोत अभाव नहुने स्पष्ट गरे ।

कालीगण्डकी करिडोरका प्रोजेक्ट म्यानेजर कल्पना अधिकारीले प्रारम्भिक अध्ययनअनुसार रानीमहललाई रेट्रोफिटिङ गर्न, नदीकटानबाट जोगाउन, पहिरो व्यवस्थापन गर्न, पुल निर्माण गर्न, पार्किङ क्षेत्रलाई व्यवस्थित गर्न लगायतका कार्यहरू गर्न आवश्यक रहेको देखिएको जानकारी दिइन् । राणाकालीन समयमा खड्ग शम्शेरले रानी तेजकुमारी देवीको स्मृतिमा रानीमहल निर्माण गरेका थिए ।

You might also like

Comments are closed.