रामपुरमा विद्यालय नर्स र विद्यार्थीलाई प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखिकरण

रामपुर (पाल्पा) । रामपुर नगरपालिकामा किशोर किशोरी र विद्यालय नर्सलाई प्रजनन् स्वास्थ्य सम्बन्धि अभिमुखीकरण प्रदान गरिएको छ । बिहीबार किशोर–किशोरीलाई यौनिकता, शारीरिक परिवर्तन र यौन स्वास्थ्यबारे विद्यमान भ्रमहरू हटाउने उद्देश्यका साथ अभिमुखीकरण प्रदान गरिएको हो ।

किशोर किशोरी स्वास्थ्य कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका स्वास्थ्य शाखाले नगर भित्रका माध्यमिक विद्यालय र आधारभूत विद्यालय विद्यार्थी र नर्सहरुलाई अभिमुखिकरण प्रदान गरेको जनाइएको छ । कार्यक्रममा नेपाल परिवार संघ तानसेनका शाखा प्रबन्धक शोभाकान्त न्यौपानेले किशोर किशोरको लागि बृहत यौनिकता शिक्षाको बारेमा अभिमुखिकरण प्रदान गरे । उनले किशोर किशोरी मैत्री व्यवहार, यौन तथा प्रजनन् स्वस्थ्य सम्बन्धी चासो, चिन्ता, समस्या र आवश्यकता संगै किशोर किशोरीमैत्री स्वस्थ्य सेवाका विशेषताका बारेमा जानकारी दिए ।

गाँडाकोट स्वास्थ्य चौकी प्रमुख मजिबुर रहमान शेख र नर्सिङ अधिकृत पुनम धितालले किशोरी मैत्री स्वास्थ्य सेवाका विशेषता, पहुँच र महत्वका विषयमा सहभागीलाई जानकारी गराएका छन् । उपप्रमुख बालकुमारी थापाले किशोर अवस्था एक संवेदनशील चरण भएकाले त्यसबेला देखिने शारीरिक तथा मानसिक परिवर्तनबारे स्पष्ट ज्ञान नहुँदा भ्रम सिर्जना हुने बताउँदै, यस्तो शिक्षाले किशोर–किशोरीलाई सशक्त बनाउने विश्वास व्यक्त गरिन् । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रम उपप्रमुख थापाको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेको सञ्चालनमा भएको हो । कार्यक्रममा ५७ जना विद्यार्थी र विभिन्न विद्यालयका नर्सहरूको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.