रामपुर (पाल्पा) । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा रामतुलसी नमुना माध्यमिक विद्यालयले छलाङ मारेको छ । रामपुर नगरपालिका वडा नं ५ बेझाडमा अवस्थित यस विद्यालयले यसवर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
नमुना विद्यालयको रुपमा परिचित रामतुलसीबाट एसइई मा २ जना विद्यार्थीले ४ जिपिए ल्याएर नयाँ रेकर्ड कायम गरेका छन् । विद्यार्थी विविशा घिमिरे र अनुजा श्रेष्ठले ४ जिपिए ल्याएसँगै विद्यालयले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।
२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा रामपुर नगरपालिकामै ४ जिपिए ल्याउने रामतुलसी एकमात्र विद्यालय हो । एसइईमा २ जनाले ४ जिपिएसँगै ३३ जनाले ए प्लससहित १२९ जना विद्यार्थी उत्तिर्ण भएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिए ।
“शैक्षिक तथा भौतिक क्षेत्रमा विद्यालयका गतिविधि अघि बढाउँदै जादा अहिले उत्कृष्ट नतिजा ल्याउन सफल बनेका छौँ” प्रअ लम्सालले भने,–“मेहनत र अनुशासनले विद्यालयको शैक्षिकस्तर बृद्धि गर्न सफल बनेका छौँ, हाम्रो ध्यान भनेकै विद्यार्थीको सिकाईस्तर बृद्धि गर्नमा मात्रै केन्द्रीत छ, यसैको परिणाम अहिलेको एसइईको नतिजाले देखाएको छ” ।
शिक्षक, कर्मचारी, विद्यार्थीको मेहनत र अभिभावकको लगाबले चार जिपिएसहितको उत्कृष्ट नतिजा ल्याएर विद्यालयले नयाँ इतिहास कायम गर्न सफल भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठ ‘अशोक’ ले बताए ।
“उत्कृष्ट नतिजा ल्याउन अहोरात्र खट्नुहुने शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, सरोकारवाला सबैलाई धन्यवाद दिन चाहन्छु” अध्यक्ष श्रेष्ठले भने–“चार जिपिए ल्याएसँगै विद्यालयको नयाँ इतिहास बनेको छ, शैक्षिक क्षेत्रमा एउटा नयाँ खुड्किलो पार गरियो भन्ने अनुभुती भएको छ, आगामी दिनमा सबैको साथ सहयोगले रचनात्मक कार्य गर्दै जानेछौँ”
पाल्पा जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी रहेको यस विद्यालय सदरमुकाम तानसेन भन्दा करिव ६५ किलोमिटर पूर्वमा सञ्चालित छ । ग्रामीण भेगमा रहेरपनि उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालय शैक्षिक क्षेत्रको एउटा गन्तव्यस्थल बनेको छ । करिव २७ सय विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयले शिक्षणस्तर बृद्धि गर्दै पछिल्ला वर्षमा उत्कृष्ट नतिजा ल्याउन सफल बनेको छ ।
रामतुलसीसँगै पाल्पाबाट ६ जना विद्यार्थीले ४ जिपिए अङ्क ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार २०८१ को एसइईमा पाल्पा जिल्लाबाट २ सामुदायिक र १ संस्थागत विद्यालयका ४ छात्रा र २ छात्रले ४ जिपिए ल्याएका छन् ।
रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरबाट २ जना, देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय तानसेनबाट १ जना र न्यू होराईजन आवासीय माध्यमिक विद्यालय तानसेनबाट ३ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।
नतिजाअनुसार रामतुलसी माविबाट विविशा घिमिरे र अनुजा श्रेष्ठ, देववाणी संस्कृत तथा साधारण माविबाट शुलभ भट्टराई, न्यू होराईजन आवासीय माविबाट दिव्या कार्की, कामना राना र निश्चल भण्डारीले चार जिपिए ल्याउन सफल भएको समन्वय इकाइका प्राविधिक सहायक बोमबहादुर थापाले बताए ।
समन्वय इकाईका अनुसार ४ जिपिए ल्याउने विद्यार्थीहरु साधारणतर्फको रहेको छ । पाल्पाबाट परीक्षामा सहभागी विद्यार्थीमध्ये ६० दशमलव ४५ प्रतिशतले ग्रेड पुरा गरेको थापाले जानकारी दिए । नियमित साधारणतर्फ ५९ दशमलव ९३ प्रतिशत र प्राविधिकतर्फ ६८ दशमलव ४२ प्रतिशत विद्यार्थीले ग्रेड पुरा गरेका छन् ।
सोमध्ये ४ जिपिए ल्याउने विद्यार्थी ६ जना, ३.६१ देखि ४ जिपिए ल्याउने २३२ जना, ३.२१ देखि ३.६० जिपिए ल्याउने ५५१ जना, २.८१ देखि ३.२० जिपिए ल्याउने ७५३ जना, २.४१ देखि २.८० जिपिए ल्याउने ५३८ जना, २.०१ देखि २.४० जिपिए ल्याउने २० जना, १.६० देखि २.० ल्याउने शुन्य र १.६० जिपिए भन्दा कम ल्याउने विद्यार्थी संख्या १ हजार ४०४ जना रहेको छ ।
प्राविधिकतर्फ ३.६१ देखि ४ जिपिए ल्याउने १८ जना, ३.२१ देखि ३.६० जिपिए ल्याउने ६२ जना, २.८१ देखि ३.२० जिपिए ल्याउने ६१ जना, २.४१ देखि २.८० जिपिए ल्याउने १५ जना र १.६० जीपीए भन्दा कम ल्याउने विद्यार्थी संख्या ७२ जना रहेका छन् । जिल्लाका १३९ विद्यालयबाट विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए ।
Comments are closed.