कार्यक्रम व्यवस्थापन संघमा नयाँ नेतृत्व, अध्यक्षमा राजेन्द्र लुईटेल

काठमाडौं । कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशन एवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल (राज) केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् । देशभरका कार्यक्रम आयोजक एवं ईभेन्ट व्यवस्थापकको छाता संगठन कार्यक्रम व्यवस्थापन संघको आगामी २ वर्षे कार्यकालका लागि लुईटेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।

राजधानीको लाजिम्पाट बुटिक होटलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा तृष्णा गुरुङ्ग, उपाध्यक्षमा समिर लामा, महासचिवमा सोनीतराज ढुंगेल, सचिवमा विपिन पोखेरल, कोषाध्यक्षमा मनोज थापा र्निविरोध निर्वाचित भएका छन् । त्यसैगरी सहसचिवमा भागिरथ कुमार पोखरेल, सहकोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरुमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहूल बन्जाडे, पूजा रेग्मी र लोमस कार्की निर्वाचित भएको जनाइएको छ ।

निर्वाचनका लागि संघका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम कोइराला, वरिष्ठ पत्रकार विएम आचार्य तथा अधिवक्ता केशव पोखरेल निर्वाचन अधिकृत रहेका थिए । प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीलाई प्रमुख अतिथि तथा विशिष्ठ अतिथि डा.अर्पणा शाह लगायतका अतिथिहरुले प्रमाण पत्र प्रदान गरेका छन् । अधिवेशन तथा चुनावी सभालाई पर्यवेक्षकका रुपमा विभिन्न संघसंस्थाका अध्यक्ष तथा पदाधिकारी रहेका थिए ।

देशभरका १२० भन्दा बढि ईभेन्ट आयोजक तथा कम्पनीको सहभागिता रहेको सोही महाधिवेशनबाट ३ जनालाई सल्लाहकार चयन गरिएको छ । वरिष्ठ चिकित्सक एवं गीतकार डा.भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा टिचिङ्ग अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्व गर्भनर डा.सुशीला मल्ललाई सल्लाहकारको प्रमाण पत्र प्रदान गरिएको छ ।

संघका निवर्तमान अध्यक्ष लवबहादुर कार्कीलाई संरक्षकको रुपमा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण विएम आचार्यले गरेका हुन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.