सुशीला रेग्मी/रामपुर (पाल्पा) । काक्राबाट छोटो समयमा नसोँचेको आम्दानी भएपछि व्यवसायी उत्साहित बनेका छन् । पाल्पा रामपुरका दिलबहादुर थापा र लालबहादुर थापाले यस पटक काक्रा खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।
काममा निरन्तरको मेहनत र व्यवसायमा आउने उतारचढाबमा धैर्य गर्न सकियो भने राम्रै आयआर्जन गर्न सकिन्छ भन्ने थापा दाजुभाईले उदाहरण प्रस्तुत गरेका छन् । करिव दुई रोपनी क्षेत्रफलमा लगाइएको कर्मा जातको काक्राको स्वादले ग्राहकको मन जित्न सफल भएको छ । विरुवा लगाएको दुई महिनाभित्र करिव रु दुई लाख ५० हजार बढि आम्दानी भएपछि व्यवसायमा थप हौसला बढेको दिलबहादुरले बताए ।
गत वैशाख ९ गते लगाएको विरुवाले हालसम्म उत्पादन लेखाजोखा गर्दा चार हजार किलो भन्दा बढि काक्रा बिक्री गरेको उनी बताउँछन् । जेठ असार महिनामा रामपुर क्षेत्रमा काक्राको माग राम्रो खपत हुने भएकाले यहीँ समयलाई मध्यनजर गर्दै खेती गरिएको उनको भनाइ छ ।
“यस पटक काक्राको उत्पादन धेरै राम्रो भयो, बजारमा सजिलैसँग बिक्री भएको छ, व्यापारबाट हामी सन्तुष्ट बनेका छौँ, मेहनत गरियो भने उत्पादन राम्रो हुने रहेछ भन्ने अनुभव पाएका छौँ, स्थानीय बजारमै राम्रो खपत भइरहेको छ, हालको बजारमा चलेको बिक्री मुल्य पाउँदा हामी खुशी छौँ” उनले भने ।
विरुवा लगाएको ३५ दिनबाट उत्पादन बिक्री गर्न थालेको लालबहादुरले जानकारी दिए । प्रतिकिलो रु ७० को दरले धमाधम काक्रा बिक्री गरेर राम्रो आम्दानी भित्रिएको उनी बताउँछन् । उनी भन्छन्, “दिनहुँ काक्रा टिप्ने बिक्री गर्दैमा दुई जनालाई भ्याईनभ्याई जस्तै हुन्थ्यो, बजार नपाएर समस्या होला भन्ने पिरलो छैन, उत्पादन गर्न सकियो भने स्थानीय बजारमा नै बिक्री भइरहन्छ, यहाँको बजारको माग अनुसार अझैपनि पु¥याउन सकिएको अवस्था छैन” ।
वैदेशिक रोजगारीबाट फर्केर कृषि व्यवसायमा आबद्ध थापा दाजुभाईले जग्गा भाडामा लिएर खेती गरिरहेका छन् । रामपुर नगरपालिका–४ स्थित देविस्थानमा ईट्टाभट्टा उत्पादन गरेर छाडिएको पत्थरीलो जग्गालाई खेतीयोग्य जमिनमा परिणत गराएर थापा दाजुभाईले तरकारी खेती सुरु गरेका हुन् । सो पत्थरीलो जग्गामा ‘हाम्रो आधुनिक कृषिफार्म’को नाममा फामै दर्ता गरेर युवाले हराभरा तरकारी फलाएको देख्दा यहाँका स्थानीयबासी दङ्ग छन् ।
थापा दाजुभाईको व्यवसाय अवलोकन तथा तरकारी लगाउने नयाँ प्रविधि, वीउँ विजन, बजारीकरण लगायतका ज्ञान सीप सिक्न जानेको चहलपहल हुन थालेको छ । व्यापारी तथा ग्राहक पनि फार्ममै पुगेर तरकारी खरिद गर्ने गर्दछन् । युवाले सुरु गरेको यो फार्म हिजोआज कृषि सिकाई केन्द्र जस्तै बनेको छ । उनीहरुको व्यवसायको सिको गर्दै कृषि व्यवसायमा युवाको आकर्षण बढेको छ ।
समय अनुसार व्यवसाय गर्न सकियो भने बजारको समस्या नपर्ने व्यवसायीको अनुभव छ । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कृषि बाली विज्ञान विषयका विद्यार्थीहरु पनि बेला–बेलामा आफ्नो विषयसँग सम्बन्धित शिक्षणका लागि यहाँ आएर प्रयोगात्मक सिकाई आर्जन गरिरहेका हुन्छन् ।
Comments are closed.