नियम उल्लङ्घन गरेर सवारी चलाउनेलाई कारबाही तीव्र बनाइदै

काठमाडौं । नियम उल्लङ्घन गरेर सवारी चलाउनेलाई कारबाही तीव्र पार्न थालिएको छ । जथाभावी सवारी चलाउँदा दुर्घटना बढेसँगै ट्राफिक प्रहरीले प्रहरीले कारबाही तीव्र बनाएको हो ।

नेपाल प्रहरीका अनुसार पछिल्लो एक महिना (जेठ)मा मात्र १ लाख ११ हजार १९२ सवारी ट्राफिक कारबाहीमा परेका छन् । सो कारबाहीबाट ९ करोड ४१ लाख ३० हजार ७०६ रुपैयाँ राजस्व सङ्कलन गरिएको हो ।

तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन, जथाभावी हर्न बजाउने, ओभरटेक गर्ने, लेन क्रस गर्ने, ओभरलोड बोक्ने, तोकिएका कागजात नबोक्ने लगायतलाई कारबाही गरी जरिवाना तिराइएको छ ।

त्यस्तै, जेठ महिनामा २ हजार ९११ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ४ हजार ४१६ वटा सवारी साधन परेका छन् । जेठमा सवारी दुर्घटनामा २१५ जनाको मृत्यु, ५८० गम्भीर घाइते र ३ हजार ६६० जना साधारण घाइते भएका छन् ।

जेठमा सबैभन्दा धेरै २ हजार ४५७ वटा (५५.६४ प्रतिशत) मोटरसाइकल दुर्घटनामा परेका छन् । त्यस्तै, १९९ बस, ८१० जीप, कार, ३०२ ट्रक, ट्रयाक्टर, २२९ टैम्पो, १२ डोजर, लोडर, २५२ साइकल दुर्घटनामा परेका हुन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.