काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा सवारी साधन खरिद बिक्रीमा सुधार आएको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सवारी खरिद गर्न ऋण लिने क्रम बढेको हो ।
राष्ट्र बैंकका अनुसार चालु आवमा सवारी साधन खरिदका लागि लिइने हायर पर्चेज कर्जा लगानी ५.१ प्रतिशतले बढेको हो । बैंक तथा वित्तीय संस्थाले चालु आवको ११ महिना (साउन–जेठ) मा कुल ६ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका हुन् ।
२०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले समग्रमा १ खर्ब २४ अर्ब १० करोड हायर पर्चेज कर्जा लगानी गरेकोमा जेठ मसान्त आइपुग्दा ५.१ प्रतिशतले बढेर १ खर्ब ३० अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो २ वर्ष लगातार घटेको हायर पर्चेज कर्जा लगानी चालु आवमा अर्थतन्त्र क्रमशः चलायमान बन्दै गएसँगै बढेको हो ।
आर्थिक गतिविधिमा सुधार आउँदा चालु आवमा सवारी साधनको खरिद बिक्री बढेको छ । यससँगै हायर पर्चेज कर्जा लगानीमा पनि सुधार आएको हो । पछिल्लो समय अटोमोबाइल क्षेत्र चलायमान बनेको छ । गत वर्षको तुलनामा सवारी आयात तथा बिक्री दुवै बढेको छ । चालु आवको ११ जेठसम्म १८ हजार कार, जीप, भ्यान लगायत सवारी साधन आयात भएका छन् ।
त्यस्तै, १ लाख युनिट बढी दुईपाँग्रे र ८ हजार युनिट बढी मिनिबस, माइक्रो, बस, ट्रक लगायत सवारी आयात भएको भन्सार विभागको तथ्याङ्क छ । राष्ट्र बैंकको कडाइका बाबजूद बैंक तथा वित्तीय संस्थाहरूले हायर पर्चेज कर्जा लगानी बढाएका हुन् ।
राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत बैंकहरूलाई ईभीको लोन टु भ्यालु रेसियो ८० प्रतिशतबाट ६० प्रतिशतमा झारेको थियो । त्यस्तै, हालै हायर पर्चेज कम्पनीलाई पनि ६० प्रतिशतभन्दा ऋण दिन नपाउने व्यवस्था लागू गरेको थियो । यसका बाबजूद चालु आवमा बैंकहरूले हायर पर्चेजमा ६ अर्ब ८४ करोड रुपैयाँ बढी नयाँ कर्जा प्रवाह गरेका हुन् ।
पर्सनल र कमर्शियल दुवैमा बढ्यो कर्जा लगानी
बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज कर्जा अन्तर्गत कमर्शियल र निजी प्रयोजन (पर्सनल) सवारी किन्न ऋण दिन्छन् । चालु आवको जेठसम्म आइपुग्दा दुवै खाले सवारीमा कर्जा लगानी बढेको हो । यद्यपि, वैशाखसम्म कमर्शियल भेहिलकमा कर्जा लगानी घट्दो थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवमा कमर्शियल भेहिकलमा कर्जा लगानी १.८ प्रतिशत र पर्सनलमा १४.४ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बैंकहरूले कमर्शियलमा ८७ अर्ब २६ करोड रुपैयाँ लगानी गरेकोमा जेठ मसान्त आइपुग्दा १ अर्ब ५३ करोडले बढेर ८८ अर्ब ७९ करोड रुपैयाँमा पुगेको छ ।
त्यस्तै, पर्सनल भेहिकलमा गत असारसम्म ३६ अर्ब ८४ करोड रुपैयाँ लगानी भएकोमा जेठसम्म आइपुग्दा ५ अर्ब ३१ करोड रुपैयाँ बढेर ४२ अर्ब १५ करोड रुपैयाँ पुगेको हो । चालु आवमा कमर्शियल भेहिकलको कर्जा लगानी वृद्धिदर ऋणात्मक भए पनि कुल कर्जा लगानी भने पर्सनल भेहिकलको तुलनामा दोब्बर धेरै छ ।
जेठसम्म पर्सनल भेहिकलमा ४२ अर्ब १५ करोड रुपैयाँ लगानी गरेका छन् । जबकि सोही अवधिमा कमर्शियलमा ८८ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
Comments are closed.