प्रयोगमा नआएका विमानस्थललाई मनोरञ्जन सम्बन्धी गतिविधि गर्न दिइने

काठमाडौं । सरकारले हाल प्रयोग नभएका विमानस्थलमा मनोरञ्जनात्मक वा प्रशिक्षणात्मक गतिविधि गर्न दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय हवाई नीति २०८२’ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।

मस्यौदामा हाल प्रयोगमा नरहेका विमानस्थललाई पर्यटन प्रवद्र्धनका लागि प्रयोग गर्न सकिने प्रस्ताव गरिएको छ । जसमा हवाई उडान प्रशिक्षण संस्थालाई प्रयोग गर्न दिनेदेखि मनोरञ्जन गतिविधिमा पनि प्रयोग गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।

‘नियमित रूपमा सञ्चालनमा नआएका विमानस्थललाई मनोरञ्जनात्मक वा प्रशिक्षणात्मक नागरिक उड्डयन गतिविधि वा पर्यटन क्षेत्रसम्बद्ध क्रियाकलापमा उपयोग गर्नका लागि सार्वजनिक निजी लगानी प्रवद्र्धन गरिने छ,’ प्रस्तावित नीतिको मस्यौदामा भनिएको छ ।

फ्लाइङ स्कूल सञ्चालन गर्नेलाई निश्चित अवधिसम्म निःशुल्क विमानस्थल प्रयोग गर्न दिइने छ । ‘हवाई उडान प्रशिक्षण संस्था (फ्लाइङ स्कुल) सञ्चालनका लागि निश्चित अवधिसम्म निःशुल्क विमानस्थल प्रयोग गर्न पाउने व्यवस्था मिलाइने छ । यस्ता संस्थालाई सञ्चालनमा आएको अवधिदेखि पहिलो निश्चित वर्षसम्म करमा विशेष छुट दिनुका साथै सहुलियत उपलब्ध गराइने छ,’ मस्यौदामा भनिएको छ ।

मस्यौदा माथि सरोकारवालाबाट सुझाव समेत प्राप्त भइसकेको छ । प्राप्त सुझावलाई समेटी मस्यौदालाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.