दिगो विकास लक्ष्यको कार्यान्वयन, वित्तीय स्रोत परिचालनमा नेपालले ठोस कदम चाल्नुपर्नेमा जोड

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा. शिवराज अधिकारीले दिगो विकास लक्ष्यहरू कार्यान्वयनका लागि वित्तीय स्रोत परिचालन र विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई अघि बढाउन नेपालले थप ठोस कदम चाल्नुपर्ने बताएका छन् ।

अमेरिकाको न्यूयोर्कमा दिगो विकास सम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले आगामी ५ वर्षभित्र २०३० सम्मका लक्ष्यहरू प्राप्त गर्न विश्व समुदाय अझै पछाडि परिरहेको बताएका हुन् ।

उनले विश्वव्यापी रूपमा दिगो विकास लक्ष्यहरूको वित्तीय अन्तर ४ दशमलव २ ट्रिलियन अमेरिकी डलर वार्षिक पुगेको बताउँदै नेपालले मात्र एसडीजी हासिल गर्न वार्षिक २३ दशमलव ३ अर्ब अमेरिकी डलर (जसले कुल गार्हस्थ्य उत्पादनको ४४.९ प्रतिशत लगानी गर्नुपर्ने भएपनि त्यसमा ११ दशमलव १ प्रतिशतको वित्तीय अन्तर रहेको उल्लेख गरे । प्रा.डा.अधिकारीले एफएफडी ४ को सेभिल्ला प्रतिबद्धता र ग्लोबल डिजिटल कमप्याक्टले यस अन्तरलाई तान्ने महत्त्वपूर्ण आधार तयार पार्ने बताउँदै ती प्रतिबद्धताको शीघ्र र पूर्ण कार्यान्वयनका लागि नेपालले जोड दिएको जानकारी दिए ।

उपाध्यक्ष अधिकारीले विदेशी सहायताको परिमाण बढाउनुपर्ने र त्यसलाई राष्ट्रिय प्राथमिकतासँग मेल गराउनुपर्ने निजी क्षेत्रको लगानीलाई नव प्रवर्तनात्मक वित्तीय संयन्त्रमार्फत आकर्षित गर्नुपर्ने जलवायु वित्तीय पहुँचमा तीव्रता ल्याउनुपर्ने डिजिटल र प्रविधिगत खाडल कम गर्न कृषि, ऊर्जा र सार्वजनिक सेवामा प्राविधिक सहयोग तथा हस्तान्तरणका लागि विश्वव्यापी सहकार्य बढाउनुपर्ने, संस्थागत क्षमता र मानव संसाधन विकासमा लगानी बढाउनुपर्ने जस्ता मुख्य कुरामा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

उनले लक्ष्यहरू महत्वकाङ्क्षी मात्रै नभई त्यसलाई कार्यान्वयनमा उतार्न ठुलो परिमाणमा वित्तीय स्रोत परिचालन र नवप्रवर्तन आवश्यक रहेको बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.