होटल क्षेत्रमा सीपयुक्त जनशक्ति उत्पादनमा विज्ञको जोड

काठमाडौं । होटल क्षेत्रमा दक्ष तथा सीपयुक्त जनशक्ति उत्पादनका लागि सरकारी र निजी क्षेत्रको बलियो समझदारी अपरिहार्य रहेको यसक्षेत्रका विज्ञहरुले जोड दिएका छन् । होटल सङ्घ नेपाल र सरकारी इन्स्योर परियोजनाको आयोजनमा आज आयोजित मानव संशाधन सम्मेलनका वक्ताले दक्ष जनशक्ति नभएसम्म उत्पादनशील क्षेत्रको प्रवद्र्धन हुननसक्ने बताएका हुन् ।
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का सदस्य सचिव महेश भट्टराईले दक्ष जनशक्ति उत्पादनका लागि समयसापेक्ष पाठ्क्रमका साथै आवश्यकता अनुसारका पाठ्क्रमहरु निर्माणमा निजी क्षेत्रको सहयागको अपेक्षा गरे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुरेशकुमार जोशीले श्रम बजारमा सीपयुक्त जनशक्तिको अभाव खड्किएको बताए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डम्बर सुनुवारले शिक्षा र सीपलाई श्रमबजारमा जोडनुपर्ने खाँचो औँल्याए ।

 

आतिथ्यता क्षेत्रमा भए गरेका नीति नियम, कानुन, प्रक्रिया र औद्योगिक सम्बन्धका बारेमा होटल सङ्घ नेपालका कानुनी सल्लाहकार गान्धी पण्डितले र सोही कार्यक्रममा औद्योगिक प्रशिक्षार्थीबारेमा इन्स्योर परियोजनाका नेतृत्वकर्ता रविन्द्रबहादुर सिंहले पनि प्रस्तुतीकरण दिएका हुन् । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले मुलुकले भोगिरहेको दक्ष जनशक्ति अभावका बारेमा चर्चा गर्दै होटलहरु एक तिहाइ मात्र सञ्चालनमा रहँदा पनि जनशक्ति अभाव हुनु विडम्बना भएको उल्लेख गर्दै सोही विषय वस्तुहरुलाई उजार गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

 

कार्यक्रममा मुलुकमा बढ्दै गएको तारे होटलहरुको सङ्ख्या, भारतीय र चिनियाँलगायत बढ्दो पर्यटक आगमनलाई स्तरीय सेवा प्रदान गर्ने परिप्रेक्ष्यमा विद्यमान नियम कानुन, अवस्था र वैदेशिक रोजगारीमा श्रम बजारमा बढ्दो आकर्षणले सिर्जना गरेको परिस्थितिबाट दक्ष जनशक्ति र उत्पादकत्व बढाउन राज्य र निजी क्षेत्रले गर्नुपर्ने सहकार्यबारे विस्तृत छलफल भएको थियो ।

 

समूहगत छलफलका मध्यस्थकर्ता सङ्घका कोषाध्यक्ष युवराज श्रेष्ठले छलफलमा उपस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक सङ्गिता ओझा, सिटिइभिटीका निर्देशक विनोद बडाल र निजी क्षेत्रको तर्फबाट मानव संशाधन निर्देशक खेम पौडेलले मुलुकमा दक्ष जनशक्ति अभाव, वैदेशिक रोजगारी, वैदेशिक इन्टर्नसीप, समयसापेक्ष पाठ्यक्रमको अभावका बारेमा छुट्टाछुट्टै चर्चा गरी गहन छलफल भएको थियो ।

 

सम्मेलनले आतिथ्य उद्योगको मानव संशाधन क्षेत्रमा कार्यरत व्यवस्थापकहरुको ह्यान एचआर क्लब स्थापना गरी यस क्षेत्रको विकास र विस्तारमा एकीकृत ढङ्गमा कार्य गर्ने निर्णय गरेको छ ।
You might also like
Ram Tulasi Palpa

Comments are closed.