रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले पर्यटन विकासलाई प्रवद्र्धन गर्दै कालीगण्डकी नदी किनारमा पैदल मार्ग निर्माण गरेको छ । नगरपालिकाभित्र पर्ने यस नदीको किनारमा पर्यटकलाई लक्षित गर्दै पैदलमार्ग निर्माण गरिएको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा दुई हजार पाँच सय ६७ मिटर पैदल मार्ग निर्माण सम्पन्न गरिएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए । धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वलाई उजागर गर्नका लागि रामनदीधामदेखि देवघाटसम्मको पैदलमार्ग अन्तर्गत रामपुर नगरपालिकामा ३४ किलोमिटर लम्बाइको पैदल मार्ग निर्माण कार्य सुरु गरिएको नगर प्रमुख थापाले बताए ।
“यस मार्गमा ढुंगा छाप्ने र इन्टरलक लगाउने काम भइरहेको छ, नदी किनारको प्राकृतिक सौन्दर्य र धार्मिक स्थलको पहुँचलाई सहज बनाउँदै स्थानीय पर्यटन र अर्थतन्त्रमा योगदान पु¥याउनेछ” नगर प्रमुख थापाले भने ।
यस मार्गमा आ.व.०८१/०८२ मा विभिन्न स्थानमा दुई मिटर चौडाईको इन्टरलक राखेर ढुंगा छाप्ने काम सम्पन्न भएको छ । जसमध्ये वडा नं. ३ स्थित केलादीमा पाँच सय ५७ मिटर, ६ को ज्याग्दीपार्कमा एक सय ९१ मिटर, तिलकपुरमा चार सय ३२ मिटर इन्टरलक, सुन्दर फनपार्कमा एक सय ९५ मिटर इन्टरलक, ८ स्थित भूजात क्षेत्रमा ६७८ मिटर ढुंगा छाप्ने र दुई सय १० मिटर इन्टरलक, १० को शालिकराम पार्कमा एक सय १४ मिटर ढुंगा छाप्ने र नरमदेश्वर मन्दिरमा एक सय ९० मिटर इन्टरलक राख्ने र ढुंगा छाप्ने काम भएको छ ।
यस्तै वडाभानघाट र तातोपानीघाटमा प्रतिक्षालय निर्माण गरिएको छ । यस परियोजना संघीय सरकार र रामपुर नगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको छ । यसले नदी किनारको धार्मिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्दै, स्थानीय समुदायको सहभागिता र फाइदालाई प्राथमिकता दिएको छ ।
पैदल मार्गको निर्माण कार्य नगरपालिकाका अन्य स्थानमा पनि अघि बढिरहेको नगरपालिकाले जनाएको छ । कालीगण्डकी नदी किनारलाई एकीकृत पर्यटन गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । देशका ठूला शहरसँग सिधा जोडिएको यो क्षेत्रमा कालीगण्डकी नदीमा पैदल मार्ग तयार भएपछि यो क्षेत्रमा बाह्य पर्यटक भित्रिनेछन् ।
धार्मिक महत्व बोकेको कालीगण्डकी नदीले रामनदीधाम, केलादीधाम, रामघाटधाम, रिडीधाम, देवघाटधाम जस्ता महत्वपूर्ण तीर्थस्थल जोडेकाले पैदल मार्ग निर्माणले यो क्षेत्रको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा टेवा पु¥याउनेछ । पारिवारिक जलयात्राका लागि उपयुक्त रहेको कालीगण्डकी नदीलाई पर्यटन प्रवद्र्धन गर्दै यसैबाट स्थानीयको आयआर्जन बढाउन सकिने प्रशस्त सम्भावनाहरु छन् ।
Comments are closed.