१ खर्ब २० अर्ब राजस्व वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । आ.व.०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि भएको छ । आ.व. ०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो ।

आ.व. ०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । अर्धबार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व सङ्कलन भएको छ ।

अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व सङ्कलन भएको बताए । उनी भन्छन्, “तयारी सुरु गरिसकेका छौँ, चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौँ” ।

चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब राजस्व सङ्कलनको लक्ष्य छ । आ.व. ०७१/०७२ मा ४ खर्ब ५ अर्ब, ०७२/०७३ मा ४ खर्ब ८१ अर्ब, ०७३/०७४ मा ६ खर्ब ९ अर्ब, ०७४/०७५ मा ७ खर्ब २६ अर्ब, ०७५/०७६ मा ८ खर्ब २९ अर्ब राजस्व सङ्कलन भएको थियो ।

त्यसैगरी ०७६/०७७ मा ७ खर्ब ९३ अर्ब, ०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, ०७८/०७९ मा १० खर्ब ६६ अर्ब, ०७९/०८० मा ९ खर्ब ५७ अर्ब र ०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ सङ्कलन भएको थियो ।

You might also like

Comments are closed.

Secret Link