एउटै फार्मबाट एक सिजनमै ९ हजार कफीका बिरुवा बिक्री

सुशीला रेग्मी

रामपुर (पाल्पा) । पाल्पा रामपुरको एक फार्मबाट एक सिजनमा ९ हजार कफीका बिरुवा बिक्री भएको छ । रामपुर नगरपालिका–५ स्थित भम्बक बस्ने प्रेमबहादुर सिं ठकुरीले कफीका बिरुवा उत्पादन गरी विभिन्न जिल्लामा खपत गरेका छन् ।

यही असारमा मात्रै उनले ९ हजार कफीका बिरुवा बिक्री गर्न सफल भएका छन् । ठकुरीले गतवर्ष करिव ६ हजार बराबरको विरुवा बिक्री गरेका थिए । यो क्षेत्रमा फागुन देखि असारसम्म विरुवा लगाउने गरिन्छ । बिशेषगरी असारमा धेरैले माग गर्ने हुँदा उनले यो समयलाई लक्षित गरेर विरुवा उत्पादन गर्दै आएका छन् ।

ठकुरीले बिगत ३ वर्ष देखि अरबिका जातको बिरुवा उत्पादन गरिरहेका छन् । प्रति बिरुवा रु ४० का दरले फार्मबाटै धमाधम बिक्री भइरहेको छ । नर्सरीमा २५ सय बिरुवा बिक्री गर्न बाँकी रहेको उनले जानकारी दिए । यहाँ उत्पादन भएका विरुवा पाल्पा, स्याङ्जा, पर्वत लगायतका जिल्लामा खपत भएको छ ।

विरुवा राखेको १४ महिनामा लगाउन योग्य हुने गरेको उनी बताउँछन् । यो क्षेत्रमा कफीका विरुवा उत्पादन गर्ने उनीमात्रै हो । ठकुरीले आफ्नै घरमा अर्गानिक चिया तथा कफी उद्योग समेत चलाएका छन् ।

 

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.