पेट्रोलियम पद्धार्थको खपत साढे ६ प्रतिशत बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा पेट्रोलियम पद्धार्थको खपत औसतमा ६.४१ प्रतिशतले बढेको छ । पछिल्लो समय क्रमशः अर्थतन्त्र चलायमान हुन थालेसँगै सबैखाले पेट्रोलियम पद्धार्थको खपत बढ्न थालेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आवमा डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास सबैको खपत बढेको छ । गत वर्षमा पेट्रोलको खपत सबैभन्दा धेरै ८.५० प्रतिशतले बढेको छ । गत आवमा कुल ७ लाख ४६ हजार ४२० किलोलिटर पेट्रोल आयात भएको विभागको तथ्यांक छ । यो अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा ५८ हजार ४९० किलोलिटर धेरै हो । अघिल्लो आवमा कुल ६ लाख ८७ हजार ९३१ किलोलिटर पेट्रोल आयात भएको थियो ।

त्यसैगरी, समीक्षा अवधिमा मट्टीतेलको खपत ७.७० प्रतिशतले बढेको छ । अघिल्लो आवमा १२ हजार ८३६ किलोलिटर मट्टीतेल आयात भएकोमा गत आवमा १३ हजार ८२४ किलोलिटर आयात भएको छ । गत आवमा हवाई इन्धनको खपत ६.१६ प्रतिशतले बढेको छ । गत आवमा अघिल्लो आवकोभन्दा १२ हजार १८२ किलोलिटर धेरै अर्थात् २ लाख १० हजार १२ किलोलिटर हवाई इन्धन आयात भएको छ ।

त्यस्तै, गत आवमा डिजेल आयात ३.८९ प्रतिशतले बढेको छ । अघिलो आवमा १४ लाख ११ हजार ४४० किलोलिटर डिजेल आयात भएकोमा गत आवमा १४ लाख ६६ हजार २८५ किलोलिटर आयात भएको छ । यो अघिल्लो आवको भन्दा ५४ हजार ८४५ किलोलिटर धेरै हो । गत वर्षमा खाना पकाउने एलपी ग्यासको आयात पनि ५.८० प्रतिशतले बढेको छ ।

अघिल्लो आवमा ५२ करोड ४२ लाख किलो एलपी ग्यास आयात भएकोमा गत वर्ष ५५ करोड २० लाख ४६ हजार किलो आयात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा ३ करोड ४ लाख किलो धेरै ग्यास आयात भएको छ । पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुन थालेकाले इन्धनको खपत बढेको नेपाल आयल निगमले जनाएको छ ।

गत आवमा निर्माण गतिविधि बढ्दा सिमेन्ट, डण्डी लगायत उद्योगको सञ्चालन अवधि बढ्दा, विकास आयोजनामा स्काभेटर, ट्रिपर लगायत उपकरण प्रयोग बढेकाले डिजेलको खपत बढेको छ । त्यस्तै, गत आवमा ईभीको आयात बढे पनि पर्यटकीय क्षेत्र चलायमान हुँदा र आममानिसको गतिविधि बढ्दा पेट्रोलको पनि खपत बढेको पाइएको छ ।

पछिल्लो समय पर्यटन व्यवसाय गुल्जार हुँदा खाना पकाउने ग्यासको खपत बढेको हो । पर्यटकीय गतिविधि बढ्दा होटल तथा रेष्टुरेन्टहरू पूर्ण क्षमतामा सञ्चालन हुन थालेका छन् । पछिल्लो समय इन्डक्सन चुल्होको प्रयोग बढे पनि होटलमा ग्याँसको प्रयोग बढ्दा खपत बढेको हो ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.