पाल्पा । कालीगण्डकी करिडोर अन्तर्गत निर्माण सम्पन्न भएका सडक हस्तान्तरणको काम सुरु भएको छ । कालीगण्डकी करिडोर आयोजना अन्तर्गत गैँडाकोट–राम्दी–मालढुङ्गा सडकखण्ड अन्तर्गतको १४५ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि हस्तान्तण गरिएको हो ।
कालीगण्डकी करिडोर योजना अन्तर्गत नवलपरासीको गैँडाकोटदेखि बागलुङको मालढुङ्गासम्मको १४५ किमी सडक निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएका सडकमध्ये ६७ किमी सडक पाल्पा डिभिजन र ७८ किमी सडक भरतपुर डिभिजनलाई हस्तान्तरण गरिएको पाल्पास्थित आयोजनाकी प्रमुख कल्पना अधिकारीले जानकारी दिइन् ।
उनले पछिल्लो दुई वर्षयता निर्माण सम्पन्न भएका सडक हस्तान्तरण गरिएको बताइन् । नवलपरासीको गैँडाकोटदेखि बागलुङको मालढुङ्गासम्मको कुल २४० किमी सडकमध्ये अब ९५ किमी सडक निर्माणको काम आगामी दुई वर्षभित्र सक्ने योजना रहेको छ । कार्यालयका सूचना अधिकारी अरुण खत्रीले यो खण्डको ९५ किमी सडकमा अब कालोपत्रे गर्ने र केही स्थानमा पुल बनाउने काम बाँकी रहेको बताए ।
नेपाल सरकारको महत्वपूर्ण आयोजनाका रूपमा रहेको र नेपालको उत्तरदक्षिण जोड्ने सडकका रूपमा यो आयोजना डेढ दशकअघिदेखि निर्माण सुरु गरिएको थियो । नेपालको उत्तर–दक्षिण चीन र भारत जोड्ने सडक कालीगण्डकी करिडोरको अर्को खण्ड भने उत्तरतर्फ २०२ किलोमिटर छ । आयोजनाको गैँडाकोटदेखि मुस्ताङकोरला नाकासम्म ४४२ किलोमिटर सडक निर्माणाधीन रहेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो सडकलाई दुई भागमा विभाजन गरेर काम भइरहेको छ । सडकको उत्तरतर्फ बागलुङ, म्याग्दी, मुस्ताङको कोरलासम्म २०२ किलोमिटर छ । खत्रीले सडक हस्तान्तरणपछि मर्मतसुधार र थप संरचना निर्माणको काम डिभिजन कार्यालयमार्फत हुने बताएका छन् ।
कालीगण्डकी तटीय क्षेत्रका नागरिकलाई प्राथमिकतामा राखेर यो सडक निर्माण भइरहेको हो । यस क्षेत्रको कृषिजन्य उपजलाई हिमाल, पहाड र तराईसम्मको बजारमा लैजान, भारत र चीनका पर्यटक भित्र्याउन महत्वपूर्ण मानिएको छ । कालीगण्डकी कोरिडोर परापूर्वकालदेखि सिल्क रोड अर्थात् रेसममार्गका रूपमा परिचित थियो ।
कुनै बेला यो मार्गले छिमेकी मित्रराष्ट्रहरू चीन र भारतको बीचमा आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध स्थापित गरेको थियो । अहिले पनि यही सडकले कृषि, पर्यटन, विद्युत्, उद्योग र व्यवस्थित बसोबासका लागि थुप्रै अवसर भित्र्याउने अपेक्षा गरिएको छ ।
कालीगण्डकी करिडोर आयोजनाको सुरु लागत अनुमान २० अर्ब थियो भने योजनाको संशोधित लागत २५ अर्ब पुगेको छ । अहिलेसम्म ६२.५ प्रतिशत वित्तीय प्रगति भइसकेको छ भने भौतिक प्रगति ६३ प्रतिशत छ ।
Comments are closed.