पाल्पा । पाल्पाबाट एक वर्षमा १७ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १७ जनाको गैरआवासीय नेपाली नागरिकता जारी गरिएको हो । उनका अनुसार ‘नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८०’ लागू भएपछि गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था सुरु भएको थियो ।
“सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण÷नेपाली नागरिकताको प्रमाणपत्र, विदेशी मुलुकको नागरिकता वा नागरिक भएको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेमा सम्बन्धित प्रशासन कार्यालयबाट गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था अनुसार गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको हो”, प्रजिअ सुवेदीले भने ।
गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेक सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको उनले जानकारी दिए । उनले भने “गैरआवासीय नागरिकताको बारेमा चासो राख्दै विदेशमा रहेका नेपाली तथा उहाँहरूका आफन्त कार्यालयमा आउने गरेको छन ।”
प्रजिअ सुवेदीका अनुसार यो नागरिकता लिन वडाको सिफारिस लिई अनुसूचीमा उल्लेखित फाराम भरी प्रमुख जिल्ला अधिकारीबाट शपथग्रहण गर्नुपर्ने व्यवस्था छ । “नेपाली नागरिकता त्याग गर्नुपर्छ । तोकिएको ढाँचामा फाराम भरेपछि गैरआवासीय नेपाली नागरिकता जारी हुन्छ । अरूको नागरिकताको किसिममा वंशज हुन्छ भने एनआरएनएको हकमा गैरआवासीय नेपाली लेखिन्छ”, उनले भने । नागरिकता सार्क मुलुकबाहेकका गैरआवासीय नेपालीले पाउँदै आएका उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरबाट एक आर्थिक वर्षमा १८ हजार नौ सय ६२ वटा वंशजका आधारमा नागरिकता जारी भएका प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए। उनले यी दुई कार्यालयबाट छ हजार ९९८ वटा नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी भएका जनाउँदै जिल्ला प्रशासनबाट १७ जनाले नागरिकता त्याग गरेका र १२ जनाले वैवाहिक अङ्गिकृत नागरिकता लिएका उल्लेख गरे ।
Comments are closed.