स्याङ्जा । अम्बिकाप्रसाद पौडेलको योगदान समेट्ने गरी ‘स्याङ्जाको पृष्ठभूमि र माननीय अम्बिकाप्रसादको योगदान’ नामक पुस्तक प्रकाशन भएको छ । प्राडा यमबहादुर पौडेल क्षेत्रीको लेखन अनि सम्पादन रहेको सो पुस्तक प्रकाशन उद्यमी, व्यवसायी नारायणप्रसाद पौडेलले गरेका हुन् ।
शनिबार पोखरामा संविधान सभा सदस्य तथा गण्डकी विश्वविद्यालयका संस्थापक कुलपति प्राडा गणेशमान गुरुङको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो । अम्बिकाप्रसाद पौडेलको राजनीतिक, सामाजिक, शैक्षिक र धार्मिक योगदानमा केन्द्रित रही अनुसन्धानात्मक ग्रन्थ प्रकाशनमा ल्याइएको छ । मणिपाल शिक्षण अस्पताल पोखराका सञ्चालक नारायणप्रसाद पौडेलद्वारा प्रकाशित यस ग्रन्थले स्वर्गीय पौडेलको व्यक्तित्व र उनको समयको सामाजिक परिवेशलाई उजागर गरेको छ ।
ग्रन्थका अनुसार, शिक्षाको पहुँच अत्यन्त सीमित भएको बेला पौडेलले स्याङ्जामा शैक्षिक क्रान्तिको नेतृत्व गरेका थिए । पौडेलको योगदान शिक्षामा मात्र सीमित थिएन । उनले आँधीखोला क्षेत्रका बासिन्दाका लागि स्वास्थ्य सेवा पु¥याउन स्वास्थ्य चौकी स्थापनामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पुस्तकमा उनको यी कार्यलाई तत्कालीन समाजमा विकास र चेतनाको जग बसाल्ने महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गरिएको छ ।
यो पुस्तक करिब ४० वर्ष लामो अध्ययन र विभिन्न व्यक्तिसँगको अन्तर्वार्तामा आधारित छ । पुस्तकमा स्याङ्जाका पूर्व राष्ट्रिय पञ्चायत उपाध्यक्ष हरिबहादुर थापा, पूर्व प्रधानपञ्च, विभिन्न विश्वविद्यालयका कुलपति, राजनीतिज्ञ, समाजसेवी, शिक्षक तथा प्रशासकहरूका अनुभव र अभिमत पनि समेटिएको छ । प्रकाशक नारायणप्रसाद पौडेलले अम्बिकाप्रसाद पौडेलले वि.सं. २००७ साल अगावैदेखि २०१५ सालसम्म र २०१७ देखि २०४० सालसम्म गरी करिब ४ दशकसम्म निरन्तर राजनीतिक, सामाजिक, शैक्षिक एवं धार्मिक क्षेत्रमा पु¥याएका योगदानहरु पुस्तकमा समेटिएको बताए ।
परम्परागत शिक्षा संस्कृतिमा मात्र जकडिएको तत्कालीन समाजमा आफ्नै गाउँदेखि विभिन्न गाउँमा आधुनिक शिक्षाका लागि र अन्य विकासका पूर्वाधारहरू स्थापित गराउँदै लैजाने सवालमा पथप्रदर्शक बनेका अम्बिकाप्रसाद पौडेलको योगदानको ऐतिहासिक महत्व रहिरहने उनको भनाइ छ । उनी भन्छन् “देशको ऐतिहासिक चरणमा योगदान पु¥याउने विभिन्न जिल्लाका अन्य व्यक्तिको समेत अभिलेख तयार गर्नमा यस ग्रन्थले मार्ग प्रशस्त गर्न सकोस् भन्ने लागेको छ” ।
कार्यक्रमको अध्यक्षता गरेका अम्बिकाका छोरा राजेन्द्रप्रसाद पौडेलले पिताको निधन भएको ४२ वर्षपछि भएपनि योगदानलाई उजागर गरिदिने पुस्तक लेखक र प्रकाशकप्रति आभार व्यक्त गरे । संविधान सभा सदस्य एवं गण्डकी विश्वविद्यालयका संस्थापक कुलपति प्राडा गुरुङले समाज परिवर्तनका सवालमा अम्बिकाको योगदान कसैले भुल्न नहुने बताए । उनको घरको संरक्षण गरी सङ्ग्रहालय बनाउन उनले सन्ततिसँग आग्रहसमेत गरेका छन् ।
गण्डकी प्रदेश सभा सदस्य सुधीरकुमार पौडेलले उतिबेला अम्बिकाले थालेका कामलाई अहिले आफूले राजनीतिकर्मीका रुपमा निरन्तरता दिइरहेको बताए । राजनीतिमा निडर, प्रष्ट वक्ता र उदारवादी पञ्चको छबी बनाएका हजुरबुवा अम्बिकाकै पदचापमा आफू हिँडिरहेको उनको भनाइ छ । पुस्तकमाथि परिचर्चा नारायण ढकालले गरेका हुन् ।
कार्यक्रममा संविधान सभा सदस्य शारदा पौडेल, अम्बिकाकी नातिनी डा. रमा पौडेल, दुर्गाबहादुर शाह (बाबा), तिलक पौडेल, स्याङ्जाली सम्पर्क सदनका संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठ, कृष्ण क्षेत्री (उदय) लगायतले आफ्ना भनाइ राखेका छन् ।
को हुन् त अम्बिकाप्रसाद पौडेल
स्याङ्जा झारखोलाको हुनेखाने परिवारमै जन्मेका अम्बिकाप्रसाद पौडेलको अलि बिद्रोही स्वभावका थिए । आफ्नो विद्रोही स्वभावलाई उनले समाज रुपान्तरणमा प्रयोग गरे । त्यसो त पञ्चायतकालमा आँधिखोलाको सिरानतिर अम्बिका र बीचतिर शोभाकान्त अर्यालहरुको दबदबा थियो । भर्खर राणा शासनको दबदबाबाट मुलुकले मुक्ति पाएपछि सबैभन्दा खड्केको विषय थियो शिक्षा ।
गाउँमा भाषा पाठशाला खोल्नेदेखि गाउँलेहरुमा चेतना जगाउने काममा अम्बिकाले देखिने गरी भूमिका निर्वाह गरे । सतौं चारखुट्टेमा जिल्लाकै पहिलो औपचारिक विद्यालय मातृभूमि स्कुल अम्बिकाकै प्रेरणाबाट खुलेको उनका आफन्तहरु बताउँछन् । उनकै अगुवाईमा २०२१ सालमा चिलाउनेवासमा जनप्रदीप स्कुल खुल्यो । जुन मावि हुँदै अहिले क्याम्पस समेत सञ्चालनमा छ । २०१५ सालको संसदीय चुनावमा पराजित भएपछि उनी सामाजिक क्रियाकलापमा बढी संलग्न रहे ।
२०१७ सालमा राजाले संसद भंग गरेपछि अम्बिका चिलाउनेवास गाउँ पञ्चालयतको पहिलो अध्यक्ष बने । त्यसपछि अञ्चलस्तरीय सदस्यहरुकै बीचबाट उनी २ पटकसम्म राष्ट्रिय पञ्चायतको सदस्य भए । निडर र हक्की स्वभावका अम्बिकासँग तत्कालीन समयमा प्रमुख जिल्ला र न्यायाधीशहरु पनि हच्किने उनका समकक्षीहरुले सुनाउँथे ।
Comments are closed.