काठमाडौं । काठमाडौं महानगरपालिकाले आफैंले सञ्चालन गरेको पार्किङ स्थलमा २ घण्टासम्म पार्किङ शुल्क नलाग्ने व्यवस्था गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक ऐन २०८२ मा यस्तो छुट सुविधा दिएको हो ।
महानगर आर्थिक ऐन अनुसार महानगर आफैंले सञ्चालन गरेको पार्किङ स्थलमा सवारी साधन पार्किङ गर्दा पहिलो २ घण्टासम्म कु्नै शुल्क लाग्ने छैन । तर, २ घण्टा बढी पार्किङ गरेको खण्डमा सुरूको समयदेखि देखि नै दुईपाँग्रेका लागि प्रति ३० मिनेटको १५ रुपैयाँ र चारपाँग्रेको लागि प्रति ३० मिनेट २५ रुपैयाँ पार्किङ शुल्क लाग्नेछ ।
अर्थात् महानगरद्धारा सञ्चालित पार्किङ क्षेत्रमा २ घण्टाभन्दा १ मिनेट पनि बढी पार्किङ गरेमा सुरू देखिकै प्रति ३० मिनेट १५ रुपैयाँ दरले ७५ रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्नेछ । त्यस्तै, चारपाँग्रेले १२५ रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्नेछ ।
अपाङ्गता भएका व्यक्तिको लागि भने पार्किङ शुल्क नलाग्ने महानगरले जनाएको छ । महानगरले न्युरोड, पुरानो बसपार्क लगायत स्थानमा आफैंले पार्किङ स्थल सञ्चालन गरेको छ । त्यस्तै, अन्य सार्वजनिक निकाय तथा निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सञ्चालन भइरहेको पार्किङ स्थलमा भने सम्झौतामा उल्लेख गरे अनुसार नै पार्किङ शुल्क लाग्ने उल्लेख छ ।
निजी क्षेत्रले सञ्चालन गरेका अधिकांश पार्किङ स्थलमा दुईपाँग्रेको न्यूनतम शुल्क २० रुपैयाँ बढी छ भने घण्टाको ४० रुपैयाँसम्म छ ।
Comments are closed.