न्यूयोर्क । क्रस रिभर बैंकका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई) अधिकृत प्रवेश रिजाललाई अमेरिकाभरिका १०० प्रभावशाली एआई नेताहरूको सूची एआई १०० मा समावेश गरिएको छ ।
यो प्रतिष्ठित सम्मान उनलाई शुक्रबार न्यूयोर्कमा आयोजित मेसिनकन २०२५ समारोहका क्रममा प्रदान गरिएको हो । विराटनगरमा जन्मिएका रिजाल कृत्रिम बौद्धिकता (एआई), वित्तीय सेवा र परिमाणात्मक नवप्रवर्तनको सङ्गममा एक प्रखर व्यक्तित्वका रूपमा उदाएका छन् ।
विश्वका प्रमुख वित्तीय प्रविधि (फिनटेक) कम्पनीहरूलाई प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने क्रस रिभर बैङ्कमा उनी संस्थाको डेटा र एआई रणनीति अगाडि बढाउने जिम्मेवारीमा छन् । रिजालले आफ्नो करियर सिटिग्रुपबाट सुरु गरेका थिए । त्यसपछि उनले क्रस रिभरको क्वान्टिटेटिभ स्ट्राटेटिज विभाग स्थापना गरी नेतृत्व गरे र पछिल्लो समयमा प्रमुख डेटा तथा एआई अधिकृत पदमा नियुक्त भएका हुन् ।
उनले न्युयोर्क युनिभर्सिटीबाट वित्तीय इन्जिनियरिङमा स्नातकोत्तर डिग्री लिएका छन् र हाल फ्रान्सस्थित इडी एचइसी बिजनेस स्कुलबाट क्वान्टिटेटिभ फाइनान्समा विद्यावारिधि गर्दैछन् । एआई १०० अवार्डले कृत्रिम बौद्धिकता र डेटा विज्ञानको प्रयोगमार्फत व्यापारमा रूपान्तरण ल्याउने अग्रणी नेतालाई सम्मान गर्छ ।
विजेताको छनौट प्रभाव, नवप्रवर्तन र जटिल उद्योगमा एआई समाधानलाई मापनयोग्य रूपमा लागू गर्ने क्षमताका आधारमा गरिन्छ ।कार्यक्रम आयोजकले रिजाललाई ‘वित्तीय सेवामा एआईको भविष्यलाई मूर्तरूप दिन सक्ने एक साहसी र बहुविषयगत नेताको रूपमा चित्रण गर्दै उनको कथाले आजको एआई नेतृत्व कति विश्वव्यापी भइसकेको छ भन्ने कुरालाई उजागर गर्छ भन्ने देखेको बताए ।
अमेरिकाभरिका शीर्ष एआई नेताले मन्तव्य व्यक्त गरेको सो सम्मेलनको आयोजना कृत्रिम बुद्धिमत्ता सम्बन्धी अग्रणी विश्लेषण संस्था, एआइएम रिसर्चले गरेको थियो ।
Comments are closed.