११ महिनामा प्रदेश सरकारले गरे १ खर्ब २४ अर्ब रुपैयाँ खर्च

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा प्रदेश सरकारहरुले १ खर्ब २४ अर्ब ९० करोड रुपैयाँ बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन १ खर्ब ८२ अर्ब ६० करोड रुपैयाँ गरेका छन् ।

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी १ खर्ब ३९ अर्ब ८६ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ४२ अर्ब ७४ करोड रहेको छ ।

यस्तै, समिक्षा अवधिमा नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार नेपाल सरकारको कुल खर्च १२ खर्ब ८२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा चालु खर्च ८ खर्ब ५१ अर्ब ५८ करोड, पुँजीगत खर्च १ खर्ब ४३ अर्ब ३९ करोड र वित्तीय व्यवस्था खर्च २ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत)१० खर्ब १६ अर्ब ९ करोड रूपैयाँ पुगेको छ । यसअन्तर्गत कर राजस्व ९ खर्ब १८ अर्ब र गैरकर राजस्व ९८ अर्ब ८ करोड रुपैयाँ परिचालन भएको छ ।

You might also like

Comments are closed.