दाङ । यहाँका किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारी बताए ।
उनले विगत ५ वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आएका छन् । भारतीय कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ । उनी भन्छन्, “स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन ।”
पछिल्लो समय एक क्विन्टल कागती बारीमै कुहिएर खेर गएको उनको भनाइ छ । उमेरले २५ वर्ष पुगेका किसान अधिकारीको बारीमा १५० कागतीका बोट छन् । पछिल्लो समय सामाजिक सञ्जालमा बिक्रीमा समस्या भनेर राखेपछि काठमाडौंबाट माग आएकाले ४९७ केजी उधारोमा पठाएको उनको भनाइ छ । रु ८० का दरले पठाएको उनी बताउँछन् ।
आफ्नै गाउँठाउँमा व्यावसायिक रूपमा कागतीखेती गर्दै आएका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो व्यवसायमा लागेको छु, बजार खोज्दै भौतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ” उनले भने ।
उनले एक बिघा जग्गामा व्यावसायिक रूपमा कागतीको खेती गर्दै आएका छन् । किसान अधिकारीले यसबाट वार्षिक रूपमा रु २ लाख ५० हजार बढी आम्दानी गरिरहेका छन् । कागतीसँगै आँप, लिच्ची, अमलालगायतको पनि खेती गर्दै आएको उनले जनाए ।
सुरुमा उनका ३ दाजुभाइ मिलेर कागतीखेती गरेका थिए । दाजु विक्रम अधिकारी भने हाल वैदेशिक रोजगारमा छन् भने भाइ जीवनले उनलाई सहयोग गर्दै आएका हुन् । यसका कारण व्यावसायिक रूपमा कागतीखेतीलाई निरन्तरता दिन केही सहज भएको उनको भनाइ छ ।
Comments are closed.