सार्वजनिक स्थानमा वाईफाई हटस्पट सञ्चालन गर्न आईएसपीलाई कडाइ

काठमाडौं । सार्वजनिक स्थानमा वाईफाई हटस्पट सञ्चालन गर्न इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई कडाइ गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभूत टेलिफोन सेवा प्रदायकबाहेक अरू सेवा प्रदायकलाई यस्तो सञ्चालनमा कडाइ गरेको हो । अहिले यस्ता सेवा प्रदायकले वाईफाइको माध्यमबाट सिमलेस कनेक्टिभिटी रोमिङ वा मोबिलिटी सेवा प्रदान गर्न सकिने व्यवस्था छ ।

ती प्रदायक बाहेक अन्य अनुमतिपत्र प्राप्त गरेका सेवा प्रदायकले प्राधिकरणको वाईफाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली अन्तर्गत कुनै निश्चित क्षेत्र वा परिधिभित्र वाईफाई हटस्पट सञ्चालन गर्न सक्ने, साथै एक पटक लगइन गर्दा निश्चित समयावधिको लागि मात्रै वाईफाई हटस्पट सेवा प्रयोग गर्न सक्ने शर्तको पालना गर्न प्राधिकरणले आग्रह गरेको छ ।

साथै वाईफाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति बमोजिम पावर लिमिट, ब्याकहल, ब्याकबोन रेस्ट्रिक्सन लगायतका शर्त अनिवार्य रुपमा पालना गरी प्राधिकरणबाट टाइप अप्रुभल भएको रेडियो उपकरण मात्र प्रयोग गर्न गराउन प्राधिकरणले सचेत गराएको छ ।

अन्यथा प्रचलित कानुन बमोजिम कारवाही गरिने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

You might also like

Comments are closed.