प्याव्सन केन्द्रीय प्राज्ञिक परिषद् सदस्यमा घिमिरे, शैक्षिक विकासमा जोड दिने प्रतिबद्धता

रामपुर (पाल्पा) । निजी तथा आवासीय विद्यालय अर्गनाइजेजन नेपाल (प्याव्सन) केन्द्रीय प्राज्ञिक परिषद् सदस्य सुर्यप्रसाद घिमिरेलाई रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयले बधाई ज्ञापन गरेको छ ।

विद्यालयका प्रबन्ध निर्देशक घिमिरेलाई प्याव्सनको केन्द्रीय प्राज्ञिक परिषद्को सदस्यमा मनोनित भएकोमा विद्यालय परिवारबाट खुशी व्यक्त गर्दै बधाई तथा शुभकामना व्यक्त गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक, कर्मचारी, विद्यार्थी लगायत सरोकारवालाले खुशी हुँदै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

विद्यालयका अध्यक्ष गुरुप्रसाद रेग्मीले प्रबन्ध निर्देश्क घिमिरे प्याव्सनको केन्द्रीय प्राज्ञिक परिषद्को सदस्यमा मनोनित हुनु भनेको विद्यालय परिवार तथा पाल्पाकै लागि एउटा खुशीको कुरा भएको बताउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

“प्याव्सन जस्तो प्रतिष्ठित शैक्षिक संस्थाको केन्द्रीय प्राज्ञिक परिषद्को सदस्यमा आबद्ध हुनु नै शैक्षिक क्षेत्रको लागि महत्वपूर्ण कुरा हो” अध्यक्ष रेग्मीले भने,–“प्रबन्ध निर्देशक घिमिरेले प्याब्सनमा रहेर लामो समय शैक्षिक क्षेत्रमा योगदान दिनुभएको छ, आज उहाँको योगदानको कदर भएको छ, हामी विद्यालय परिवार अत्यन्तै खुशी छौँ” ।

प्याव्सनले केन्द्रीय शैक्षिक उन्नयनका साथै नेपालको शिक्षा विकासमा ल्याएको योगदानको कदर गर्दै सबै सदस्य विद्यालयहरूको प्राज्ञिक विकास तथा शैक्षिक उन्नयन कार्यालयमा विशेष योगदान पुर्याउने उद्देश्यकासाथ प्राज्ञिक परिषद गठन गरेको छ । प्रबन्ध निर्देशक घिमिरेले शिक्षा क्षेत्रमा दिएको अतुलनिय योगदानको उच्च सम्मान गर्दै प्याव्सन नियमावली तेस्रो संशोधन २०७८, को नियम ४२ वमोजिम प्राज्ञिक परिषद सदस्य पदमा मनोनयन गरिएको प्याव्सनको मनोनयन पत्रमा जनाइएको छ ।

प्याव्सनका केन्द्रीय प्राज्ञिक परिषद् सदस्य तथा रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक घिमिरेले आफूलाई बधाई तथा शुभकामना दिने विद्यालयका अध्यक्ष, समिति सदस्य, शिक्षक, कर्मचारी, विद्यार्थी, सरोकारवाला निकाय लगायत सबैलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् । प्याव्सनको नीति नियममा रहेर संस्थाको गरिमा कायम राख्दै शैक्षिक क्षेत्रको उन्नयन र विकासको लागि आफूले कार्य गर्ने घिमिरे बताउँछन् । उनले शैक्षिक विकासमा निरन्तर लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।

घिमिरेले लामो समयदेखि रामपुरस्थित रामपुर आवासिय विद्यालयसहित पूर्वी पाल्पाकै सबैभन्दा ठूलो शैक्षिक संस्था शहीद बहुमुखी क्याम्पसको प्राध्यापकको रुपमा शैक्षिक क्षेत्रमा योगदान दिदै आएका छन् । कानुनविद् समेत रहेका घिमिरेले शैक्षिक क्षेत्रका अलवा रामपुर नगरपालिका क्षेत्रमा विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध रहेका छन् । यो क्षेत्रकै एक असल र प्रेरणादायी शिक्षकका रुपमा घिमिरे चिनिन्छन् ।

 

 

 

 

You might also like

Comments are closed.