रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्ने भएको छ । नगरपालिकाले स्थानीयस्तरमा रहेका विभिन्न विषयवस्तुलाई समेटेर पुस्तक तयार गर्न लागेको हो ।
नगरपालिकाले नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक, आर्थिक, समाजिक, पर्यटन, भूगोल लगायतका विषयलाई समेटेर ‘हाम्रो रामपुर’ नामक पाठ्यपुस्तक निर्माण गर्ने भएको छ । पुस्तक तथा सन्दर्भ सामग्री निर्माणका लागि कार्यदल गठन गरि सूचना सङ्कलन कार्यशाला सम्पन्न गरेको छ । पुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यदलले नगरपालिका भित्रका १० वटै वडामा सूचना सङ्कलन कार्यशाला सम्पन्न गरेको छ ।
विद्यार्थीलाई समग्र रामपुर नगरपालिकाको विषयमा जानकारी गराई पठनपाठनमा एकरुपता ल्याउनका लागि स्थानीय पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्न लागिएको नगर प्रमुख रमण बहादुर थापाले बताए । विभिन्न देश र स्थानको बारेमा अध्ययन गरे पनि आफ्नै स्थानको बारेमा जान्न नसक्नु दुःखद पक्ष रहेको भन्दै नगरपालिकाको विषयमा जानकार गराउन पाठ्यपुस्तक निर्माणको काम शुरु गरेको थापा बताउँछन् । विज्ञ ल्याएर पुस्तक लेख्दा यहाँको स्थानीय विषयवस्तुलाई सही रुपमा उठान गर्न नसक्ने भएकाले यहीँका शिक्षकको सहयोग र सक्रियतामा पुस्तक निर्माण गर्न लागिएको नगर प्रमुख थापाले जानकारी दिए ।
“स्थानीय जनतालाई जति थाहा छ,त्यो बाहिरी व्यक्तिलाई थाहा हुँदैन” उनले भने, “धनराशी खर्चेर बाहिरी व्यक्तिलाई पुस्तक लेखाउनु भन्दा स्थानीय शिक्षकको सक्रियता र स्थानीय व्यक्तिसँग सूचना सङ्कलन गरी सबैको सहभागितामा पुस्तक तयार गर्दा यथार्थ, विश्वसनीय र प्रभावकारी हुन्छ ।” पुस्तक लेखनका लागि पहिलो चरणमा स्थानीय समुदायसँग सूचना सङ्कलनका लागि सबै वडामा कार्यशाला सम्पन्न गरेको र आगामी शैक्षिक सत्रबाट पाठ्यपुस्तक अध्यापन गर्ने तयारी रहेको थापाले बताए ।
उपप्रमुख बालकुमारी थापाले हरेक वडाको यथार्थ वस्तुस्थितिबारे सही सूचना सङ्कलन गरी विश्वसनीय र पठनीय दस्तावेजको रुपमा विकास गर्न स्थानीय पाठ्यपुस्तक लेखनका लागि कार्यशाला सञ्चालन गरिएको बताइन् । उनले पाठ्यक्रम लागू भए पनि पाठ्यपुस्तक नहुँदा शिक्षक विद्यार्थीलाई पठनपाठनमा असहज भएका कारण पुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्न लागेको जनाइन् ।
स्थानीयस्तरमा रहेका विभिन्न क्षेत्रको पहिचान संगै रचनात्मक र ऐतिहासिक कार्यक्रम भएको नगर प्रवक्ता एवं वडा नं.१ वडाध्यक्ष कपिलबहादुर खाँणले बताए । नगरपालिका भित्र रहेका जातजाती भेषभूषा भाषा संस्कृति लगायत स्थानीय कुराबारे अभिलेख सहित विद्यार्थीलाई शिक्षण र भावि सन्ततीलाई अध्ययन गर्न पाठ्यपुस्तक महत्वपूर्ण हुने उनले जनाए । पाठ्यपुस्तक लेखन कार्य युगान्तकारी अभ्यास भएको भन्दै समग्र रामपुरको वृहत्तर विकासका लागि कोशेढुङ्गाको रुपमा स्थापित हुने उनी बताउँछन् ।
नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ‘हाम्रो रामपुर’ पाठ्यक्रम लागु गरेर पठनपाठन भएपनि पाठ्यपुस्तकको आवश्यकता महसुस गरेर लेखन तयारी गरेको शिक्षा शाखा अधिकृत विकल काफ्लेले बताए । पाठ्यक्रम कार्यान्वयन र प्रभावकारी कक्षा शिक्षणका लागि पाठ्यपुस्तकसहित सन्दर्भ सामग्री निर्माण गर्न लागेको शिक्षा अधिकृत काफ्लेको भनाइ छ ।
कार्यदलले विभिन्न ८ वटा विषयवस्तुमा आधारित रहेर सुझाव सहित सूचना सङ्कलन गरेको छ । कार्यदलले प्रत्येक वडा तथा वस्तीको भूगोल र इतिहास, स्थानीय सरकार, साँस्कृतिक सम्पदा, वन वातावरण तथा सरसफाइ, स्थानीय आर्थिक विकासका आधार तथा पर्यटन, सामाजिक विकास, स्थानीय विकासका पूर्वाधार, विपद् व्यवस्थापन र सुरक्षा गरी ८ वटा विषवस्तुमा आधारित रहेर सूचना सङ्कलन गरेको स्थानीय पाठ्यपुस्तक लेखन कार्यदलका संयोजक देवराज देवकोटा बताउँछन् ।
नगरपालिकाभित्रका हरेक बस्तीको सबै यथार्थ वस्तुस्थितिबारे जानकारी लिनका लागि प्रत्येक वडामा वडावासीको प्रत्यक्ष सहभागितामा सूचना सङ्कलन गरिएको संयोजक देवकोटाले बताए । विभिन्न वडाबाट सङ्कलित सूचना र सुझाव पाठ्यपुस्तकमा नसमेटिए पनि सन्दर्भ सामग्रीको रुपमा प्रकाशित गरिने उनी बताउँछन् ।
स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माणका लागि १० वटै वडामा समाजसेवी, बुद्धिजिवी, राजनीतिक दल, जनप्रतिनिधि लगायत वडावासीको प्रत्यक्ष सहभागितामा सूचना सङ्कलन कार्यशाला सम्पन्न गरिसकेको छ । यस पश्चात् सङ्कलित सूचनाको आधारमा विषय छनौट गरी पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यलाई अगाडी बढाउने हाम्रो रामपुर पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यदलले जनाएको छ ।
Comments are closed.