बैंकिङ प्रणालीमा अधिक तरलता, फेरि ४० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन २१ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकका अनुसार ३५ दिनका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट सो रकम खिच्न लागिएको हो ।

निक्षेप सङ्कलन उपकरणद्वारा तान्न लागिएको रकमको सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ २५ गते गरिनेछ । यसका लागि बुधबार दिउँसो ३ बजे बोलकबोल हुने भएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । साउन लागेसँगै केन्द्रीय बैंकले यो छैठौँ पटक तरलता खिच्न लागेको हो ।

You might also like

Comments are closed.