पोखरा । गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवद्र्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको सोमबार उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यालयको उद्घाटन गर्दै लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको उल्लेख गरे । प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य भएको भन्दै गण्डकी प्रदेश सरकारले प्रेस रजिष्ट्रार कार्यालयको स्थापना गरेको उनले बताए । पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्न कार्यालय अग्रसर रहने विश्वास उनको छ ।
“गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको स्थापना एक ऐतिहासिक कदम हो, जसले पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्नेछ । यसले सञ्चार माध्यमलाई व्यवस्थित गर्दै पत्रकार र सञ्चार संस्थाबीचको आपसी विश्वासलाई मजबुत पार्नेछ।” उनले भने ।
प्रदेश सरकारले पत्रकारिताको स्वतन्त्रता र पेशागत अधिकारको रक्षा गर्दै जिम्मेवार सञ्चारलाई प्रोत्साहन दिन आवश्यक नीतिगत, संरचनात्मक र स्रोतगत सहयोग निरन्तर उपलब्ध गराउने उनले बताए । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले सञ्चार स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको विकासमा प्रेस रजिष्ट्रारको कार्यालय महत्वपूर्ण बन्ने बताए । प्रदेश सरकारले यस संस्थालाई आवश्यक नीति, संरचना र स्रोतसाधनका माध्यमबाट सहयोग गर्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रेस रजिष्ट्रार विमला भण्डारीले कार्यालयको उद्देश्य, कानुनी अधिकार र कार्यक्षेत्रबारे विस्तृत जानकारी गराइन् । उनले कार्यालयले गर्ने कार्यलाई स्पष्ट पार्दै कार्यालय दर्ता र नवीकरणको निकाय मात्र नभई पत्रकारिता क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र पेशागत मर्यादा कायम गर्ने अभिभावक संस्था हुने उल्लेख गरिन् ।
उनका अनुसार, कार्यालयले आमसञ्चार क्षेत्रको वार्षिक योजना तथा कार्यक्रम निर्माण, सञ्चार संस्थाको सञ्चालन अनुमतिपत्र प्रदान र नवीकरण, १०० देखि १,००० वाटसम्मको एफ.एम.रेडियोको इजाजत, छापामाध्यम, अनलाइन, टेलिभिजन र केबल वितरकको अभिलेख व्यवस्थापन, फ्रिक्वेन्सी योजना निर्माण, गुनासोको सुनुवाई, अनुसन्धान र मूल्याङ्कन, श्रमजीवी पत्रकारको सेवा–सुविधा अनुगमन, पत्रकारको कल्याणकारी कोष, विज्ञसूची निर्माण, तालिम तथा छात्रवृत्ति समन्वय, लोककल्याणकारी विज्ञापन वितरण, वर्गीकरण र सिफारिस र प्रदेश सरकार, सञ्चार संस्था तथा पत्रकारबीचको समन्वय जस्ता जिम्मेवारीहरू निर्वाह गर्नेछ ।
गण्डकी प्रदेश सरकारले तयार पारेको आमसञ्चार विधेयकमा अनलाइन पत्रिका दर्ता तथा नविकरणसम्बन्धी स्पष्ट प्रावधानहरु समेटिएको र प्रेस रजिष्ट्रारको कार्यालयबाट नै सो कार्य गर्न पहलकदमीतर्फ आफु लागिरहेको उनको भनाइ छ । अनलाइन पत्रिकाको दर्ता र नविकरणको विषय प्रेस रजिष्ट्रार कार्यालयबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्दा प्रदेशभर आमसञ्चार क्षेत्रको समृद्धि, पारदर्शिता र गुणस्तरमा वृद्धि हुने उनको विश्वास छ ।
अनलाइन मिडियाको दिगो विकासमा जोड दिने विषयमा आफु प्रतिबद्ध रहेको उनले उल्लेख गरिन् । पत्रकारिता समाजको विश्वासको आधार भएको उल्लेख गर्दै कार्यालयको कार्यक्षेत्रले गुणस्तरियतामा ख्याल गर्ने उनले बताइन् । पत्रकारहरूको पेशागत अधिकार सुनिश्चितता, आचारसंहिताको पालन र राज्यसँगको समन्वयमा कार्यालय अग्रसर रहने उनले प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा सहभागी सञ्चारकर्मी र सरोकारवालाले कार्यालयको स्थापना गण्डकी प्रदेशको सञ्चार क्षेत्रमा संस्थागत सुधारको नयाँ पाटो भएको बताएका थिए । प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले आफ्ना भनाइ राखेको कार्यक्रममा प्रदेश सरकारका उच्च पदाधिकारी, सञ्चारकर्मी, पत्रकार संगठनका प्रतिनिधि तथा विभिन्न सञ्चार संस्थाका पदाधिकारी लगायत सहभागी थिए ।
Comments are closed.