गण्डकी । देशभर नै बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढ्दो छ । बाँदरको समस्या समाधान र विकल्प खोजी भइरहँदा पोखरा महानगरले भने वडा नं २८ मा बाँदरले दुःख नदिने तर उत्पादनले उचित मूल्य पाउने मरिच खेती प्रवद्र्धन गर्ने भएको छ ।
महानगरपालिकाले यसै वर्ष ४०० मरिचका बिरुवा वितरण गरेको महानगरका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । बाँदरको प्रकोप नहुने र असिना आदि समस्या पनि नहुने भएकाले वडा कार्यालयसँग समन्वय गरी मरिचका बिरुवा वितरण गरेको उनी बताउँछन् ।
सो वडामा स्याङखुदी टारीका अगुवा कृषक सूर्यमोहन बास्तोलाले मरिच खेतीबाट राम्रो आम्दानी गरेका छन् । सोही खेतीलाई दृष्टिगत गरी वडामा मरिच खेती प्रवद्र्धन र विस्तार गर्न लागिएको हो । बास्तोलाले घर वरपरका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सय बढी हरिया रूखका फेदमा लगाएको मरिचले उत्पादन दिन थालेपछि महानगरपालिका पनि मरिच खेतीको प्रवद्र्धनमा जुटेको हो ।
बजारमा मरिच कालो सुनका रुपमा समेत परिचित छ । प्रतिकिलो रु. दुई हजार पर्ने यो मसलाजन्य बाली बास्तोलाले २०४६ सालदेखि लगाउन थालेका हुन् । आफूले २०४६ सालमा लेखनाथको भण्डारढिकस्थित पण्डित सोमनाथ आत्रेयसँग १०–१० रुपियाँका दरले दुईवटा मरिचका बिरुवा किनेर ल्याएको अनुभव सुनाए ।
बास्तोलाले हाल वार्षिक ६० देखि ७० किलोग्राम मरिच उत्पादनसँगै नर्सरी तयार गरी बिरुवा बिक्री गर्दै आएका छन् । उनका अनुसार प्रत्येक वर्ष असारमा फल्न सुरु भई चैतमा मरिचका दाना टिप्न सकिन्छ । एउटा बिरुवा १५० रुपैयाँदेखि २०० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनी बताउँछन् । उनको फार्मबाट पुरनचौर क्षेत्रमा ४०० मरिचका बिरुवा रोप्न लगेको र माछापुच्छ्रे गाउँपालिकामा ४०० बिरुवा लैजाने तयारी रहेको जानकारी दिए ।
“मैले दुई वटा बिरुवाबाट मरिचखेती सुरु गरेको थिएँ, यतिखेर राम्रो उत्पादन त छँदैछ नर्सरीमा एक हजार ५०० बिरुवा बिक्रीका लागि तयार छन्”, उनले भने । बाँदरले पनि नखाने र कुनै किराको प्रकोप मरिचखेतीमा नहुने भएकाले मनग्गे आम्दानी लिन सकिने उनको भनाइ छ ।
उनले मरिचखेती गत वैशाखमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवलोकन गरेका थिए । अवलोकनसँगै महानगरप्रमुख आचार्यले मरिचखेतीको विस्तारमा जोड दिँदै कृषकलाई बिरुवा वितरण सुरु गरेका हुन् । मरिचखेतीबाट सामान्य लगानीमा अधिकतकम फाइदा लिन सकिने महानगरपालिकाका कृषि विकास शाखाप्रमुख कडरिया बताउँछन् ।
सामान्यतः एक हजारदेखि एक हजार २०० मिटरको उचाइमा मरिचखेती हुने बताउँदै उनले सामान्यतः ओसिलो ठाउँमा यसको उत्पादन हुने जानकारी दिए । बहुवर्षे सदाबहार मरिच लहरे बाली हो । भियतनाम, भारत, ब्राजिल, मलेसिया, इन्डोनेसिया, चीन र श्रीलङ्कामा यसको व्यावसायिक खेती हुने गरेको छ ।
नेपालमा मोरङ, सुनसरी, झापा, रामेछाप, लमजुङलगायतका जिल्लाहरुमा मरिचखेती हुने गरेको छ । मरिचको प्रयोग मसला र आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिन्छ । खाना पचाउने, भोक लाग्ने, खोकीको उपचार, श्वासप्रश्वास र मुटुरोगका लागि पनि मरिच प्रयोग गरिन्छ ।
वडामा कृषितर्फ आकर्षण बढाउन निरन्तर पहल भइरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए । वडाभित्र व्यावसायिक पशुपालनलाई पनि जोड दिइएको छ । उनले वडाबाटै वार्षिक रु. एक करोड ३० लाखको दूध बिक्री हुने गरेको बताए ।
मरिचखेती विस्तारसँगै मसलाजन्य बाली उत्पादनमा जोड दिने लक्ष्य राखिएको बताउँदै उनले कृषिजन्य उत्पादनमा आत्मनिर्भरता बढाउँदै यसबाट स्थानीयवासीको आयआर्जन बढाउने लक्ष्य राखिएको बताएका छन् ।
Comments are closed.