नेपालले भारतमा एक हजार मेगावाटभन्दा बढी बिजुली निर्यात गर्ने

काठमाडौं । नेपालबाट भारतमा एक हजार मेगावाट भन्दा धेरै बिजुली निर्यात हुने भएको छ । नेपालले भारत र बङ्गलादेशमा गरी एक हजार ५० दशमलव ९ मेगावाट विद्युत निर्यातको अनुमति पाएको हो ।

पछिल्लो पटक अस्ति सोमवार थप दुई सय मेगावाट विद्युत निर्यातका लागि भारतले सहमती दिएपछि निर्यात अनुमति पाउने विद्युतको परिमाण एक हजार मेगावाट कटेको हो । यसअघि भारतमा ८ सय १० दशमलव ९ मेगावाट विद्युत निर्यातको अनुमति थियो । थपिएको दुई सय मेगावाटले भारतमा कुल निर्यात क्षमता एक हजार १० दशमलव ९ मेगावाट पुगेको हो ।

त्यस्तै अघिल्लो वर्षदेखि बङ्गलादेशमा निर्यात शुरू भएकोमा अहिले ४० मेगावाट निर्यात भइरहेको छ । भारत र बङ्गलादेश दुवै देशमा गरी नेपालको कुल विद्युत निर्यात स्वीकृति १ हजार ५० दशमलव ९ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । पछिल्लो पटक भारत सरकारले नेपालका ६ वटा जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत खरिदका लागि सहमती दिएको हो ।

भारतले सहमति दिएका आयोजनाहरुमा लिखु–२, लिखु खोला ‘ए’, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला र सुपर कावेली खोला ‘ए’ रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान सामाजिक सञ्जालमा भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्न लागेको उल्लेख गरेका छन् ।

You might also like

Comments are closed.