झापा । मेचीनगरको चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट १ वर्षमा रु. १ करोड ४२ लाख ८१ हजार सङ्कलन भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथीभरा उत्तरगंगा पर्यटन प्रवद्र्धन समिति गठन भएको छ ।
समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१/८२ मा दान पेटिकाबाट रु. ७४ लाख ७४ हजार, सहयोग रसिदबाट रु. ४४ लाख ४१ हजार, जिन्सी सामान बिक्रीबाट रु. १२ लाख ३८ हजार र आजीवन सदस्यताबाट रु. ८८ हजार आम्दानी भएको बताए । बैंकमा रहेको बचतको ब्याजबापत रु. पाँच लाख ६० हजार, अनलाइनमार्फत आय रु. दुई लाख ५४ हजार र विविध आम्दानीबापत रु. ३० हजार ७२० संकलन भएको उनले जानकारी दिए ।
प्रसिद्ध पाथीभरा देवीको पाउ रहेको पवित्र स्थानको रूपमा पूजापाठ र दर्शन गर्न मन्दिरमा दैनिक सयौँ भक्तजन आउने गर्छन् । भारतको पश्चिम बंगाल, सिक्किम, आसामलगायत स्थानबाट पनि यहाँ दर्शनार्थी आउने गरेका छन् । समितिले आम्दानीलाई बैंकमा जम्मा गर्ने र बैंकमार्फत नै खर्च गर्दै आएको जनाएको छ । आम्दानीबाट मन्दिरको पुजारी तथा कर्मचारीको नियमित पारिश्रमिक दिने, आवश्यक भौतिक संरचना निर्माण गर्ने र भक्तजनको सुविधाका लागि विभिन्न खर्च गर्दै आएको छ ।
मन्दिरको शौचालय, धाम परिसरमा मार्वल तथा टायल्स बिछ्याउने कार्य र एउटा भवनसमेत बनाउँदा सो आवमा रु ५७ लाख खर्च भएको समितिका अध्यक्ष ढकालले बताए । मन्दिरको नाममा रु. एक करोड १२ लाख २१ हजार बैंक मौज्दात रहेको छ । समितिले चार गुरुसहित नौ कर्मचारीलाई करारमा नियुक्त गरेर पारिश्रमिक दिँदै आएको छ ।
Comments are closed.