काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब तान्ने भएको छ । बैंकिङ प्रणालीमा थुप्रिएर बसेको तरलता व्यवस्थापनका लागी केन्द्रीय बैंकले ५० अर्ब तान्ने भएको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह बढ्न नसक्दा बैंकिङ प्रणालीमा तरलता थुप्रिदै गएको छ । बढ्दो तरलताका कारण राष्ट्र बैंकलाई व्यवस्थापनमा नै समस्या सिर्जना हुन थालेको छ ।
केन्द्रीय बैंकले २५ दिनको लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्काशन गर्नेछ । यसमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकले यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र साँवा तथा ब्याज भुक्तानी असोज १२ गते हुने उल्लेख गरेको छ । यसका लागी बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् । राष्ट्र बैंकले भदौ लागेयता मात्रै छैटौं पटक निक्षेप संकलन गरिसकेको छ ।
केन्द्रीय बैंकले भदौ १ गते ६० अर्बको ३१ दिने, भदौ ४ गते ३० अर्बको २५ दिने, भदौ ८ गते ५० अर्बको २१ दिने, भदौ ११ गते ४५ अर्बको २५ दिने, भदौ १५ गते ५५ अर्बको २१ दिने निक्षेप सङ्कलन गरिसकेको छ ।
Comments are closed.