काठमाडौं । हनुमानढोका दरबार क्षेत्रको राजस्वमा बृद्धि आएको छ । आर्थिक वर्ष २०८१/०८२ मा २ करोडले राजश्व बढेको छ । ०८१/८२ मा रु १९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए ।
उनका अनुसार गत ०८१/८२ मा सार्क राष्ट्रबाट ५० हजार ५३३ जनाले अवलोकन गरेकामा अन्य देशका एक लाख ६९ हजार ३९५ जनाले सो क्षेत्रको अवलोकन गरेका छन् । आ.व. ०८०/०८१ मा हनुमानढोका दरबार क्षेत्रको राजस्व १७ करोड ६९ लाख आम्दानी भएको जनाइएको छ । सो आवमा सो क्षेत्र अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या रार्क राष्ट्रबाट ४७ हजार ३९९ जना रहेकामा अन्य देशबाट आउने सङ्ख्या एक लाख ५३ हजार २६२ जना रहेका थिए ।
सो कार्यालयको विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबाट लिइने रकम नै आम्दानी हो । हाल यहाँ उक्त ऐतिहासिक स्थान घुम्न आउने पर्यटक सार्क राष्ट्रका लागि रु ५०० निर्धारण गरिएको छ भने अन्य मुलुकबाट आउने पर्यटकका लागि रु एक हजार निर्धारण गरिएको छ ।
नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ । उक्त स्थान अवोकनका लागि जुनसुकै समयमा गर्न सकिने भए पनि जीवित देवी कुमारी हेर्नका लागि भने बिहानका लागि ११ः०० देखि १२ः३० सम्म र साँझ ५ः०० देखि ८ः०० बजेको समय तोकिएको छ ।
हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक सात सयसम्म पर्यटक आउने गरेका छन् । विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको प्रधानको भनाइ छ । यस वर्ष पनि ऐतिहासिक इन्द्रजात्रा नजिकिँदै गर्दा आशाअनुरूप पर्यटक आउने विश्वास रहेको बताइएको छ ।
उक्त स्थान र इन्द्रजात्राको एकैपटक अवलोकन गर्न पाउने भएकाले उक्त क्षेत्रमा इन्द्रजात्राको समयमा अन्य समयभन्दा अत्यन्तै धेरै पर्यटक आउने गरेका छन् । इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं महानगरपालिकाले छिमेकी स्थानीय तहका प्रतिनिधि र विदेशी पाहुनालाई पनि इन्द्रजात्रा अवलोकनका लागि निमन्त्रणा गर्दै आएको छ ।
Comments are closed.