रेसुङ्गा विमानस्थलमा अब हप्तामा एक पटक मात्र हवाई उडान हुने

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा अब हप्तामा एक पटक मात्र हवाई उडान हुने भएको छ । यसअघि हप्तामा ४ दिन उडान हुदै आएकोमा नेपाल वायु सेवा निगमले उडान तालिका परिवर्तन गरी हप्तामा एक पटक मात्र उडान हुने जनाइएको छ ।

निगमका दुई वटा ट्वीनअटर जहाज ‘ग्राउण्डेड’ भएको र हाल एउटा जहाज मात्र सञ्चालनमा रहेकाले नियमित तालिकामा परिवर्तन गर्नुपरेको विमानस्थलले जनाएको छ । रेसुङ्गा विमानस्थलबाट यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुदै आएको थियो ।

अबको केही समयसम्मका लागि हप्तामा १ दिन बिहिबार मात्र उडान हुने रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी गराए । प्रतिकूल मौसमका कारण यहाँ करिब डेढ महिनासम्म उडान नियमित हुन सकेको थिएन । खराब मौसम र बाक्लो हुस्सुका कारण जिल्लामा पटकपटक उडान प्रभावित हुने गरेको छ ।

निगमले विसं २०८० वैशाख २९ गतेदेखि यहाँ व्यावसायिक रूपमा उडान सुरु गरेको थियो । निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौंदेखि यहाँ बिहान ६ः३० बजे र यहाँबाट काठमाडौं बिहान ७ः३० बजे उडानको तालिका निर्धारण गरेको छ ।

यस्तै, काठमाडौंबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीदेखि काठमाडौंका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको छ ।

You might also like

Comments are closed.