ललितपुर । पाटन दरबार क्षेत्रलाई आकर्षण बनाउँदै लगिएको छ । ललितपुरको पाटनमा अवस्थित यस दरबार क्षेत्रमा रैथाने इँटा बिच्याइएपछि अहिले यो क्षेत्र चिटिक्क बनेको छ ।
पाटन दरबार क्षेत्र विश्व सम्पदाको सूचीमा सूचीकृत सम्पदा पनि हो । यहाँ देश तथा विदेशबाट ठूलो संख्यामा पर्यटकहरु अवलोकन गर्न आउने गर्दछन् । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको छ ।
महानगरपालिकाले करिब रु. १ करोड ५२ लाख लागतमा पुरानो चाइनिज इँटा हटाएर स्थानीय स्तरमा उत्पादित रैथाने ‘तेल्या’ इँटा बिछ्याउने कार्य सम्पन्न गरेको हो । यो इँटा मल्लकालदेखि प्रयोग हुँदै आएको परम्परागत प्रकारको इँटा हो, जुन बलियो, टिकाउ र सौन्दर्यपूर्ण मानिन्छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन भन्छन्,“तत्कालीन राजा वीरेन्द्र शाहको राज्याभिषेकको समयमा चाइनिज इँटा बिछ्याइएको थियो, जुन समयसँगै जीर्ण भइसकेको थियो । त्यही इँटा हटाएर अहिले तेल्या इँटा राखिएको छ, जसले पानी जम्न नदिने र सफा देखिन्छ । इँटा राखिएपछि सम्पदा क्षेत्रको सतह पनि करिब चार इञ्च अग्लो भएको छ” ।
Comments are closed.