बागलुङमा स्नातकोत्तर गरेका युवाद्वारा साबुन उद्योग सञ्चालन

बागलुङ । बागलुङ काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले साबुन उद्योग चलाउँदै आएका छन् । स्नातकोत्तर तह उत्तीर्ण तीर्थ र ताराले गाउँमै बसेर उद्यम व्यवसाय गर्ने अठोटका साथ साबुन उद्योग सुरु गरेका हुन् ।

पछिल्लो दुई वर्षदेखि कालिका साबुन उत्पादन गरिरहेका छन् । उद्योगमा करिव एक करोड लगानी परेको सञ्चालनले जनाए । तीर्थ र ताराले नेपालमै उद्यमी बन्ने सपना देखेर यतिबेला उनीहरू दुई वर्षको छोरासँगै आफ्नो उद्योगलाई अगाडि बढाइरहेका छन् । उद्योगमा अहिले ६ जनाले रोजगारी पाएका छन् ।

बागलुङ बजारको हल्लनचोक नजिकै रहेको टिएण्डटी म्यानुफ्याक्चरिङ उद्योगबाट तीर्थ र ताराले भाँडा र कपडा धुने साबुन उत्पादन गरेर बागलुङको गलकोट, बुर्तिबाङ, कुश्मिसेरा, बरेङ र म्याग्दी र पर्वत जिल्लाका मुख्य सहरमा बिक्री गर्दै आएका छन् ।

उनीहरुले विसं २०७८ मा पर्यटन तथा उद्योग कार्यालय र बागलुङ नगरपालिकामा उद्योग दर्ता गरी २०८० सालबाट साबुन उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । रु ५० लाख लगानी गरेर सुरु गरेको उद्योगमा रु एक करोडभन्दा बढी लगानी पुगेको छ । निकट भविष्यमा सरफ, हार्पिक र कुलिनसमेत उत्पादन गर्ने लक्ष्य रहेको ताराले बताइन् ।

साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौंबाट खरिद गर्ने गरेको तीर्थले बताए । वार्षिक रु ५० लाख बराबरको कारोबार गर्ने लक्ष्य लिएको उनी बताउँछन् । दुई सय ग्रामको कपडा धुने कालिका साबुनलाई रु ५० मा बिक्री भइरहेको छ ।

You might also like

Comments are closed.