इन्टरनेटको माध्यमबाट सीप सिकेर गँड्यौला मल उत्पादन

कञ्चनपुर । गँड्यौला मल आम्दानीको गतिलो स्रोत बनेको छ । गँड्यौला मल उत्पादन गरेर अहिले किसानले यसैबाट आफ्नो आयस्रोत जुटाइरहेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारलाई गँड्यौला मल उत्पादन गर्न भ्याईनभ्याई छ । सुनारले इन्टरनेटको माध्यमबाट सिकेर गँड्यौला मल उत्पादन गर्न लागेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा पढ्दै गरेका सुनारले आम्दानीका लागि गड्यौला मल उत्पादन सुरु गरेको जनाए ।

कम लगानीमा बढी आम्दानी गर्न सकिने थाहा पाएपछि यसतर्फ लागेको उनी बताउँछन् । सुनारले दुई वर्षअघि रु. चार लाख लगानीमा चार ब्याडबाट मल उत्पादन सुरु गरेको बताए । उनले चार ब्याडबाट राम्रो आम्दानी भएपछि मल उत्पादन थप गरेर २५ ब्याडमा विस्तार गरेका छन् । उनले उत्पादन गरेको मल कैलालीसम्म बिक्री हुने गरेको छ ।

पछिल्लो समय तरकारी खेती, बगर खेती, बेमौसमीखेती गर्ने किसानले मलको माग गर्ने गरेको उनले बताए । “सुरुआतमा करिब रु. चार लाख लगानी गरेको थिएँ, त्योभन्दा बढी आम्दानी गरिसकेको छु”, उनले भने, “एक महिनामा मात्र रु. एक लाख ५० हजारको मल बिक्री गरेको छु, यसरी बिक्री भयो भने वर्षमा रु. सात लाखसम्म आम्दानी हुन्छ ।”

सुनारले तीन महिनामा ४८ क्विन्टल बढी मल बिक्री गरेको बताए । गँड्यौला मल प्रतिकिलो रु. २५ का दरले बिक्री हुने गरेको छ । गँड्यौला मलको प्रयोगले उत्पादन राम्रो हुने भएपछि पछिल्लो समय किसानले खेतीमा गँड्यौला मल प्रयोग गर्ने गरेका छन् ।

You might also like

Comments are closed.