सार्वजनिक यातायात सहज बनाउन पहल, उच्च स्तरीय यातायात व्यवस्थापन समिति गठन

काठमाडौं । जेन जी आन्दोलनसँगै बन्द भएका सार्वजनिक यातायातको सहज व्यवस्थापनका लागि पहल गरिएको छ । देशभर यातायात सञ्चालन गर्न, काठमाडौंबाट बाहिर गन्तव्यमा जाने यात्रुको सहज यात्रा र ट्राफिक व्यवस्थापन सहज बनाउन सरोकारवालाहरुले पहल गरेका छन् ।

यसैक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माको नेतृत्वमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नाडाका प्रतिनिधि, ट्राफिक प्रहरी लगायतको बैठक बसेर यातायात सेवालाई लयमा फर्काउने विषयमा गहन छलफल गरेका छन् ।

सो क्रममा यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष लगायत सरोकारवालासहितको उच्चस्तरिय यातायात व्यवस्थापन समिति गठन गरिएको छ ।

काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहजै गन्तव्यस्थलसम्म जान सक्ने गरी यातायात व्यवस्थापन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई आग्रह गरिएको छ । वर्तमान परिस्थिति एवं चाडबाडका समयमा काठमाडौंबाट बाहिर जाने यात्रुलाई यातायात सहज बनाउन अनुरोध गरिएको हो ।

बैठकमा गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारी साधन एवं कार्यालयको एकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने, ट्राफिक प्रहरीका लागि अत्यावश्यक पर्ने सामग्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सड़क सुरक्षा परिषद् लगायतबाट उपलब्ध गराउने, आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार लगायतका सामग्री सावारी साधनबाट ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय भएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

चाडपर्वको समयमा उपत्यकाबाट बाहिर जाने सवारी साधनको प्राविधिक जाँच एवं आवश्यकता अनुसार यात्रु सहायता कक्षहरु निर्माण गर्न नाडा लगायतका संस्थालाई अनुरोध गर्ने निर्णय भएको छ ।

You might also like

Comments are closed.