कक्षा १२ को स्थगित मौका परीक्षा असोज ७ र ८ गते हुने

काठमाडौं । कक्षा १२ को स्थगित मौका (पूरक) परीक्षा आउँदो असोज ७ गते मङ्गलवार र ८ गते बुधवार हुने भएको छ । मौका परीक्षाको नयाँ तालिका आज सार्वजनिक गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले संशोधित नयाँ तालिका सार्वजनिक गरी परीक्षा यही असोज ७ र ८ गतेका लागि तोकिएको जनाएको छ । भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो ।

७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरूमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ । तर, अनिवार्य अङ्ग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिलो दिन अङ्ग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ ।

बोर्डका अनुुसार असोज ८ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । यो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भने सञ्चालन हुने छैन । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ ।

You might also like

Comments are closed.