सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६१ प्रतिशत

पाल्पा । सिद्धबाबा सुरुङमार्ग निर्माणको कार्य धमाधम भइरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डमा पर्ने यस सुरुङमार्ग निर्माणको कार्य हालसम्म ६१ दशमलव ६ प्रतिशत भौतिक प्रगति भएको छ ।

सुरुङमार्गको वित्तीय प्रगति भने ५१ दशमलव १ प्रतिशत रहेको छ । सुरुङको भित्री पर्खालमा गरिने संरचनात्मक लाइनिङको काम सबै सकिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यस सुरुङमार्गको हालसम्म लाइनिङ र ढलानको काम सकिएको आयोजनाले जनाएको छ । एक हजार १२६ मिटर टनेलमध्ये सुरुङ एक हजार ८९ मिटर रहेको छ ।

उत्तर र दक्षिणतर्फ हेलिप्याड निर्माण भइरहेको र पाँच–सात महिनामा मुख्य टनेलबाट सवारीसाधन गुडाउन सकिने सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख दूध अधिकारीले जानकारी दिए । माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्गको विसं २०७९ देखि निर्माण सुरु भएको हो ।

सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको थियो ।

You might also like

Comments are closed.