तेस्रो ज्योतिपुञ्ज कप स्थगित, असोज २६ देखि कार्तिक ३ गतेसम्म सञ्चालनको तयारी

रामपुर (पाल्पा) । कालीगण्डकीवेशी क्षेत्रकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘तेस्रो ज्योतिपुञ्ज कप–२०८२’ तत्कालको लागि स्थगित भएको छ । रामपुर नगरपालिका–७ किसानबारीमा शुक्रबारदेखि सञ्चालन हुने प्रतियोगिता मुलुकको पछिल्लो घटनाक्रमका कारण तत्कालको लागि स्थगित भएको हो ।

आयोजक ज्योतिपुञ्ज युवा क्लबले प्रतियोगिता हालको राजनीतिक परिस्थितिका कारण पूर्वनिर्धारित समयमा सञ्चालन गर्न असम्भव भएकाले तत्कालको लागि स्थगित गरिएको जानकारी दिएको छ । ‘देशको हालको दुःखद् र चुनौतीपूर्ण परिस्थितिले फुटबल प्रतियोगिता अघि बढाउन नसकेको प्रति हामी दुःख प्रकट गर्दछौं । देशको परिस्थिति सामान्य बनेपछि प्रतियोगिताको नयाँ मिति छिट्टै सार्वजनिक गरिने व्यहोरा अनुरोध गर्दछौं ।’ क्लबका अध्यक्ष सुन्दर राना र खेल संयोजक अनिल शाही ठकुरीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

क्लबका अध्यक्ष रानाले सरोकारवालाको मुलुकको परिस्थितिका कारण पूर्वनिर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न असम्भव भएकाले तत्कालको लागि स्थगित गरिएको बताए । उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको थियो । क्लबले आगामी असोज २६ देखि कार्तिक ३ गतेसम्म सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

खेल संयोजक शाहीका अनुसार रङ्गशाला निर्माण सहयोगार्थ सञ्चालन गर्न लागिएको प्रतियोगितामा पाल्पा, कास्की, स्याङ्जा, रुपन्देही, नवलपरासी, तनहुँ, चितवनलगायतका जिल्लाबाट उत्कृष्ट १० फुटबल क्लबले सहभागिता जनाउने निश्चित भइसकेको छ । खेलमैदानको तयारीसँगै प्रतियोगिताको लागि स्थानीय खेलाडीलाई प्रशिक्षण सञ्चालन भइरहेको सन्दर्भमा जेनजीको प्रदर्शनसँगै मुलुकमा सृजना भएको परिस्थितिलाई मध्यनजर गरेर प्रतियोगिता स्थगित गरिएको छ ।

रामपुर नगरपालिका–७, किसानबारीस्थित क्लबले तेस्रो संस्करणको प्रतियोगिता ‘फुटबल खेल मैदान निर्माणको अभियान ः रामपुरको गौरवमा तपाईको योगदान’ भन्ने नाराको साथ सञ्चालनको तयारी गरेको थियो । तेस्रो संस्करणको प्रतियोगितामा बिजेताले ३ लाख ५० हजार र उपबिजेताले २ लाख नगद, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ ।

साथै सेमिफाइनलमा पुग्ने तर फाइनलमा पुग्न नसक्ने टिमलाई २५÷२५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले १७ हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । अधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उदाउँदो खेलाडी, उत्कृष्ट कोचलाई नगद ८ हजार, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका लागि रामपुर नगरपालिका संरक्षक रहेको छ ।

रामपुर उद्योग वाणिज्य संघ, नगर खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, प्रदेश खेलकुद विकास समिति लगायत देश तथा विदेशमा बस्ने सहयोगीले  क्लबलाई सहयोग गरेको क्लबका पूर्वअध्यक्ष सुदीप गौतमले बताए । प्रतियोगिता सञ्चालनसँगै खेलमैदान निर्माणका लागि विभिन्न संस्था तथा व्यक्तिले सहयोगको घोषणा गरेका छन् ।

 

You might also like

Comments are closed.