पुँजी बजार सुधार गर्न अर्थमन्त्री खनालद्वारा कार्यदल गठन

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पुँजी बजार सुधारका लागि सुझाव दिन कार्यदल गठन गरेका छन् । बिहीबार नेगेटिभ सर्किट लाग्दै सेयर बजार स्थगित भएसँगै अर्थमन्त्री खनाल ‘एक्सन’ मा उत्रिएका छन् ।

पूँजीबजारमा विकसित, विसंगति तथा समस्या अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन उनले कार्यदल गठन गरेका हुन् ।

शुक्रबार धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् । अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई सदस्यसचिव तोकिएको छ ।

यो कार्यदलले लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना ५ दिनभित्र अर्थ मन्त्रीसमक्ष बुझाउने जिम्मेवारी पाएको छ ।

You might also like

Comments are closed.